अनलाईनमार्फत १७ लाखभन्दा बढी ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राऊ

  • Technology Khabar | १३ कार्तिक २०८१, मंगलवार
अनलाईनमार्फत १७ लाखभन्दा बढी ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जाल व्हाट्सएप दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न भारतीय नागरिक पक्राऊ परेका छन्। पक्राऊ पर्नेमा भारतको उडीसा घर भई हाल झापा जिल्लाको हल्दीबारी गाउँपालिका वडा नं २ मा बसोबास गर्दै आएका ३० वर्षीय राजिब महानन्द रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राऊ परेका भारतीय नागरिक महानन्दले पीडितलाई सुनको गरगहनाहरु, आईफोन लगायतका सामान पार्सल गरी पठाउने प्रलोभन देखाई विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा पटक पटक गरी जम्मा रु. १७ लाख ८२ हजाररुपैयाँ रकम पठाउन लगाई ठगेका थिए।

उनलाई गत कार्तिक १० गते मोरङको बेलबारी न.पा. वडा नं. ४ स्थित नोबेल सामुदायिक अस्पताल छेउबाट पक्राऊ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाइएको बुझिएको छ।

पक्राऊ परेका महानन्दको साथबाट विभिन्न कम्पनीका मोवाईल थान ४, विभिन्न बैंकको डेबिट कार्ड ४  थान, भारतीय दूतावास काठमाण्डौ (नेपाल) बाट जारी भएको परिचय पत्र १ थान, आयकर विभाग भारत सरकारको कार्ड १ थान, एनआईसी एसिया बैंकको चेकबुक, एनसेलको सिमकार्ड १ थान बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

प्रकाशित: १३ कार्तिक २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...