Technology Khabar १३ कार्तिक २०८१, मंगलवार
काठमाडौं ।
प्रविधि क्षेत्रको विशाल कम्पनी एप्पल इंकलाई आफ्नो नयाँ आईफोन १६ स्मार्टफोन इन्डोनेशियामा बेच्न अनुमति दिइएको छैन। यसको मुख्किय कारण यसले स्थानीय रूपमा बनेका पार्ट्स प्रयोग गर्ने देशको नियमहरू पूरा नगरेको त्यहाँको उद्योग मन्त्रालयले जनाएको छ।
समाचार संस्था रोयटर्सका अनुसार इन्डोनेशियामा बिक्री गर्न चाहिने स्मार्टफोनहरूमा कम्तीमा ४०% स्थानीय रूपमा निर्मित पार्ट्स हुनुपर्छ तर आईफोन १६ ले यो आवश्यकतामा खरो उत्रन नसकेको मन्त्रालयका प्रवक्ताले शुक्रबार एक विज्ञप्तिमा जानकारी दिए।
“आयात गरिएको आईफोन १६ उपकरणलाई देशमा बिक्री गर्न सकिँदैन, किनकि एप्पल इन्डोनेशियाले स्थानीय सामग्री प्रमाणपत्र पाउन लगानीको प्रतिबद्धता पूरा गरेको छैन,” उनले भने। तर, व्यक्तिगत प्रयोगका लागि विदेशबाट ल्याउँदा आवश्यक कर तिरेर ल्याउन सकिनेछ। एप्पलले यस विषयमा तुरुन्तै प्रतिक्रिया दिएको छैन।
अनुसन्धान संस्था आईडीसीले मे महिनामा दिएको जानकारी अनुसार सन् २०२४ को पहिलो त्रैमासिकमा इन्डोनेशियामा शीर्ष दुई स्मार्टफोन निर्माताहरू चिनियाँ कम्पनी ओप्पो र दक्षिण कोरियाली कम्पनी सामसङ थिए।
इन्डोनेशियामा ठूलो संख्यामा प्रविधि प्रयोगकर्ता छन्, जसले गर्दा यसलाई दक्षिणपूर्व एशियाली देश प्रविधिमा लगानीको लागि प्रमुख बजार बनाएको छ।
गत अप्रिलमा एप्पलका सीईओ टिम कुकको इन्डोनेशिया भ्रमणको क्रममा उद्योगमन्त्री अगुस गुमिवाङ कार्तासस्मिताले एप्पलले घरेलु कम्पनीसँग साझेदारी गरेर आफ्नो स्थानीय सामग्री प्रयोग बढाउने आशा व्यक्त गरेका थिए।
कम्पनीहरूले प्रायः यस्तो साझेदारी वा स्थानीय रूपमा पार्ट्स खरिद गरेर घरेलु आवश्यकता पूरा गर्ने गर्छन्।
एप्पलले इन्डोनेशियामा कुनै निर्माण सुविधा राखेको छैन तर २०१८ देखि एप डेभलपर एकेडेमीहरू स्थापना गर्दै आएको छ जसमा नयाँ एकेडेमीसहित कुल लागत १.६ ट्रिलियन रुपिया (१०१.८ मिलियन डलर) परेको रोयटर्सले जनाएको छ।
प्रकाशित: १३ कार्तिक २०८१, मंगलवार