
काठमाडौं ।
सर्वोच्च अदालतले प्रभु बैंकका तत्कालिन सञ्चालक समिति अध्यक्ष तथा हाल डिश मिडिया नेटवर्क (डिशहोम)का अध्यक्ष देवी प्रकाश भट्टचनको नाममा म्यादको सूचना निकालेको छ।
सर्वोच्च अदालतले हाल सुनुवाईको क्रममा रहेको एक मुद्दामा विपक्षी रहेका भट्टचनसहित श्रीमती तारा कुमारी भट्टचनको नाममा समेत सूचना जारी गरेको छ। देवी प्रकाश भट्टचन हाल डिशहोमका अध्यक्ष हुन्।
डिशहोम सञ्चालक समितिको बैठकले प्रभु समुहका अध्यक्ष तथा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टचनलाई अध्यक्षमा चयन गरेको थियो। उनी २०७९ पुस २९ गते डिशहोमको अध्यक्षमा चयन भएका हुन्।
प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, सहकारी तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन्।
हाल कारागारमा कैद भुक्तानी गरिरहेका तत्कालिन किष्ट बैंकका सीईओ कमल प्रसाद ज्ञवालीले दायर गरेको एक मुद्दामा उनीहरुको नाममा अदालतको आदेश सूचना पठाईएकोमा म्याद बेपत्ते तामेली र फिर्ता आएको हुँदा सूचना जारी गरिएको उल्लेख छ।
सर्वोच्चका न्यायाधिश महेश शर्मा पौडेलले २०८१ भदौ ३१ गते दिएको कारण देखाउ आदेश र अन्तिम आदेशको छलफललाई बोलाउने आदेशअनुसार सूचना प्रकाशित गरिएको उल्लेख छ।
सूचनाअनुसार दम्पत्ती सहित नेपाल इण्भेष्टमेण्ट प्रालिलाई समेत १५ दिने सूचना जारी गर्दै उक्त अवधि भित्र कानून बमोजिम लिखित जवाफ पेश गर्न अदालतले भनेको छ।
ज्ञवालीले उनीहरुसहित प्रभु बैँक लिमिटेड, प्रभु बैँक लिमिटेडका तत्कालिन सञ्चालक समिति अध्यक्ष देवी प्रकाश भट्टचन, साविकको सिद्धार्थ विकाश बैँक लिमिटेड मर्ज भई कायम भएको ग्लोबल आइएमई बैँक लिमिटेड, नेपाल राष्ट्र बैँक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस तथा क्लिएरिङ्ग लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, इम्पोरियल सेक्युरिटज लिमिटेड, तारा कुमारी भट्टचन, नेपाल इन्भेष्टमेण्ट प्रा लि, महानगरीय प्रहरी परिसर काठमाण्डौँ/केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको देखिन्छ।
तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई सर्वोच्च अदालतले २०७३ असोजमा बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको थियो। साथै १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यसबेलाका न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र दुबैलाई १२ करोड ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो।
सोही आदेशअनुसार ज्ञवाली हाल कारागार कार्यालय डिल्लीबजारमा कैदमा रहेका छन्। तत्कालिन समयमा सीआईबीले ऋण अपचलनको मुद्दा चलाएको थियो र सोही मुद्दामा उनी थुनामा गएका हुन्।
तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार शुरु गरेको थियो। किष्ट बैंकलाई गाभेको प्रभु बैंकले ०७१ माघ १३ गते ज्ञवालीको नाममा बैंकमा रहेको सेयर बेचेर सावाँ-व्याजसहित २३ करोड रुपैयाँ असूल गरिसकेको छ।
यस्तो छ सूचनाको बेहोरा-
श्री सर्वोच्च अदालतबाट जारी भएको म्याद सूचना ।
मुद्दा नं. ०८१-wo-०३१२ (फॉट रिट ४)
श्री सर्वोच्च अदालतबाट जारी भएको तपसिलका विपक्षीको नाउँको म्याद सूचना । यसमा रिट निवेदक हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका कमल प्रसाद ज्ञवाली र विपक्षी प्रभु बैंक लि. बबरमहल समेत भएको रिट नं. ०८१-wo-०३१२ को उत्प्रेषण समेत विषयको रिट निवेदनमा तपसिलमा उल्लिखित विपक्षीहरूका नाउँमा यस अदालतको मिति २०८१/०५/३१ को आदेशानुसार मिति २०७१/०६/०६ मा सूचना म्याद पठाइएकोमा विपक्षीहरूको सूचना म्याद बेपत्ते तामेली र फिर्ता आएको हुँदा यस अदालतको मिति २०६१/०७/११ को आदेश बमोजिम तपसिलमा उल्लिखित विपक्षीहरूको नाममा सूचना म्याद प्रकाशित गरिएको छ । यो सूचना म्याद प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कानून बमोजिम लिखित जवाफ पेश गर्नुहुन सूचना गरिएको छ । उल्लिखित म्याद गुजारी बसेमा पछि उजुरी लाग्ने छैन । तपसिल
1. ललितपुर जिल्ला, ललितपुर म.न.पा. वडा नं. २ बस्ने वर्ष ६३ को श्री देवी प्रकाश भट्टचन (९८५११६९९९९ ) … १ |
२. ललितपुर जिल्ला, ललितपुर म.न.पा. वडा नं. २ बस्ने वर्ष ५९ की श्री तारा कुमारी भट्टचन (९८५१०८९९५२ ) … १ ।
३. ललितपुर जिल्ला, ललितपुर म.न.पा. वडा नं. २ सानेपा कार्यालय रहेको श्री नेपाल इण्भेष्टमेण्ट प्रा. लि (०१-५५३६३३४)
१
इति संवत् २०५१ साल कात्तिक महिना १२ गते रोज २ शुभम् … ।
प्रकाशित: १२ कार्तिक २०८१, सोमबार