दक्षिण अफ्रिकामा ह्वावे क्लाउडको द्रुत व्यापार वृद्धि

Technology Khabar १२ कार्तिक २०८१, सोमबार

काठमाडौं ।

दक्षिण अफ्रिकामा ह्वावे क्लाउडको व्यवसाय विगत पाँच वर्षमा द्रुत गतिमा बढेको छ र यसले राजस्व बढाउनका लागि बजार साझेदारी विस्तार गर्न थप क्लाउड सलुसन्सहरू लन्च गर्ने योजना बनाएको छ।

दक्षिण अफ्रिकी फर्महरू र सरकारबाट फास्टर कम्प्युटिङको बढ्दो मागले ठूला क्लाउड अपरेटरहरूलाई देशमा आकर्षित गरेको छ भने सन् २०१९ मा दक्षिण अफ्रिकामा स्थानीय ‘हाइपरस्केल’ क्लाउड डाटा सेन्टर होस्ट गर्ने ह्वावे पहिलो अन्तर्राष्ट्रिय विक्रेता भएको रोयटर्सले उल्लेख गरेको छ।

ह्वावे क्लाउडले सरकारी, वित्तीय सेवा, शिक्षा र दूरसञ्चार क्षेत्रका साथै केही मिडिया र इ–कमर्स कम्पनीहरूका १,००० भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरेको छ। यो जानकारी ह्वावे क्लाउड ग्लोबल मार्केटिङ एण्ड सेल्स सर्भिसका अध्यक्ष ज्याकलिन शिले जोहानेसबर्गमा भएको कम्पनीको क्लाउड शिखर सम्मेलनमा प्रतिनिधिहरूलाई बताएकी हुन्।

“विभिन्न ग्राहकहरूबाट यस प्रकारको बलियो समर्थनको साथ, दक्षिण अफ्रिकामा हाम्रो क्लाउड व्यवसाय विगत पाँच वर्षमा १६ गुणा भन्दा वृद्धि भएको छ” शिले थप बताइन्।

कुल राजस्व रकम “त्यति ठूलो नभएको” जानकारी दिँदै उनले कम्पनीलाई थप क्लाउड समाधानहरू सुरु गर्न र देशको बजारको ठूलो हिस्सा कब्जा गर्न प्रोत्साहित गरेको पत्रकारहरूलाई बताएकी छिन्।

दक्षिण अफ्रिकाको क्लाउड बजार सन् २०२३ र सन् २०२८ को बीचमा लगभग २६ प्रतिशतको कम्पाउन्ड वार्षिक दरमा वृद्धि भएर ११३ बिलियन र्यान्ड (६ बिलियन अमेरिकी डलर) मूल्य सम्म बढ्ने अपेक्षा गरिएको बजार अनुसन्धान कम्पनी अफ्रिका एनलाईसिसले बताएको छ।

त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्स अपनाउनुले कर्पोरेट ग्राहकहरूको खर्चलाई ड्राइभ गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।

ह्वावे क्लाउड दक्षिण अफ्रिकाका प्रमुख कार्यकारी स्टिभन चेनले पत्रकारहरूलाई भने, “क्लाउडमा जानुहोस् वा नजानुहोस्, अब विकल्प छैन। यो कति पर र कसरी छिटो गर्ने भन्ने प्रश्न हो।”

दक्षिण अफ्रिकाका ग्राहकहरूका लागि क्लाउड सेवा प्रतिद्वन्द्वी माइक्रोसफ्ट, अमेजन र अल्फाबेटको गुगललाई टक्कर दिने चिनियाँ टेक जायन्टको जोहानेसबर्गमा तीनवटा डाटा सेन्टर जोन वा स्थानहरू रहेका छन्।

प्रकाशित: १२ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया