Technology Khabar ९ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
विश्वका सबैभन्दा धनी अर्बपति इलन मस्कको नेटवर्थ एकै दिनमा ३३.५ अर्ब डलरले बढेको छ, त्यससँगै उनको सम्पत्ति २७० अर्ब डलर पुगेको छ।
विभिन्न कम्पनीका सीईओ इलन मस्कको सम्पत्तिमा यो ठूलो उछाल मस्कको विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाको उत्कृष्ट नतिजापछि स्टकमा भएको तीव्र वृद्धिका कारण देखिएको हो।
ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार ५३ वर्षीय इलन मस्कको नेटवर्थ एकै दिनमा ३३.५ बिलियन डलरले बढेर अब २७० बिलियन डलर पुगेको हो। सन् २०२४ मा मस्कको सम्पत्तिमा ४१.१ अर्ब डलरको वृद्धि भएको छ। यसको अर्थ २०२४ को बिहीबार, २४ अक्टोबर २०२४ को सत्रमा मात्रै २०२४ मा मस्कको सम्पत्ति ८१.३१ प्रतिशतले बढेको देखिन्छ। जबकि मस्कको कुल सम्पत्ति एकै दिनमा १५ प्रतिशतले बढेको छ।
टेस्लामा इलन मस्कको १३ प्रतिशत सेयर हिस्सा छ। उनको लगभग ७५ प्रतिशत सम्पत्ति टेस्लाको सेयरबाट आउँछ। मे २०१३ पछि टेस्लाको स्टकमा यति ठूलो उछाल आएको यो पहिलो पटक हो। टेस्लाले सन् २०१० मा आफ्नो आईपीओ सार्वजनिक गरेको थियो ।
मस्क अन्तरिक्ष क्षेत्रसँग सम्बन्धित स्पेसएक्स, सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित एक्सएआईका प्रमुख पनि हुन्।
टेस्लाको नाफा सन् २०२३ पछिको पछिल्लो त्रैमासिकमा सबैभन्दा बढेको छ। इलन मस्कले आगामी वर्ष २०२५ मा आफ्नो गाडीको बिक्रीमा ३० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेका छन्। साइबरट्रकले यो त्रैमासमा पहिलो पटक कम्पनीलाई नाफा आर्जन गराएको उनले बताए। जसका कारण टेस्लाको स्टक २२ प्रतिशतले उकालो लागेको कारण मस्कको नेटवर्थ एकै दिनमा ३३.५ अर्ब डलरले बढेको हो।
टेस्लाको नतिजा बारे मस्कले उल्लेख गर्दै, टेस्लाले २०२६ मा साइबरक्याब र रोबोट्याक्सिस रोल आउट गर्ने अपेक्षा राखेका छन् र कम्पनीले २० लाखदेखि ४० लाख युनिट उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन्।
इलन मस्क ब्लूमबर्ग अर्बपति सूचकांकमा पहिलो स्थानमा छन्। अमेजनका जेफ बेजोस २०९ अर्ब डलरको नेटवर्थका साथ दोस्रो स्थानमा छन् र दुवैको कुल सम्पत्तिमा ६१ अर्ब डलरको अन्तर छ।
प्रकाशित: ९ कार्तिक २०८१, शुक्रबार