Technology Khabar ९ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
क्वालकम अहिले आर्मसँगको चिप आर्किटेक्चर लाइसेन्स खोसिने प्रक्रियामा छ। नयाँ ब्लूमबर्ग न्युज रिपोर्टका अनुसार आर्मले क्वालकम लाई ६०-दिनको सूचना पठाएको छ जसमा चिप डिजाइन लाइसेन्स अन्त्य गर्ने जानकारी दिएको छ। यो घटनाले क्वालकमका स्मार्टफोन, ल्यापटप र अटोमोटिभ उद्योगका चिपसेट विकास योजनामा ठूलो धक्का पुर्याउन सक्छ।
यो अवस्था २०२२ को कानुनी विवादबाट सुरु भएको हो, जब आर्म ले क्वालकम विरुद्ध सम्झौता उल्लङ्घन र अनुमति बिना कस्टम फिनिक्स कोरहरू विकास गरेको भन्दै मुद्दा हालेको थियो।
जीएसएमएरिनाका अनुसार क्वालकम आर्मको सबैभन्दा ठूला ग्राहकहरू मध्ये एक हो र यससँगको सम्झौता रद्द हुँदा दुवै कम्पनीलाई ठूलो नोक्सान हुनेछ। ओर्योनलगायतका क्वालकमका नयाँ सीपीयूले आर्मका कोरहरू प्रयोग गर्दैनन्, तर हार्डवेयर र सफ्टवेयरलाई संवाद गर्न अनुमति दिने आर्म को इन्स्ट्रक्सन सेटमा अझै निर्भर छन्।
यसबारे क्वालकमले कसरी जवाफ दिने हो र आर्मसँग समयमै सम्झौता गर्नेछ कि भन्ने कुरा अझै स्पष्ट छैन। यो कानुनी विवाद डिसेम्बरमा अमेरिकाको डेलावेयर अदालतमा पुग्ने सम्भावना छ, तर केही अड्कलबाजीहरूका अनुसार अदालत बाहिरै सम्झौता हुनसक्ने संकेतहरू पनि रहेका जीएसएमएरिनाले जनाएको छ।
प्रकाशित: ९ कार्तिक २०८१, शुक्रबार