प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदका लागि दरखास्त आह्वान

  • Technology Khabar | ७ कार्तिक २०८१, बुधबार
प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदका लागि दरखास्त आह्वान

काठमाडौं ।

राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त तथा २ जना सूचना आयुक्तको पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।

राष्ट्रिय सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले आज एक सूचना प्रकाशित गरी इच्छुक र सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका उम्मेद्वारहरूलाई राष्ट्रिय सूचना आयोगका पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिको सचिवालय, राष्ट्रिय सूचना आयोग, त्रिपुरेश्वर काठमाडौंमा आफ्नो व्यक्तिगत विवरण सहित योग्यताका प्रमाणित प्रतिलिपिहरु संलग्न गरी आवेदन पेस गर्न आह्वान गरिएको छ।

योग्यता प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्त हुन देहायबमोजिमको योग्यता पुगेको हुनुपर्नेछः

(क) नेपाली नागरिक, (ख) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोपाधि हासिल गरेको, (ग) आमसञ्चार, कानून न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तिमा पन्ध्र वर्षको अनुभव हासिल गरेको, (घ) ६५ वर्ष उमेर ननाघेको, (ङ) ऐनको दफा १३ बमोजिम अयोग्य नभएको।

उक्त आवेदन आगामी कार्तिक  १३ गतेसम्म कार्यालय समयभित्र बुझाइसक्नुपर्ने र इच्छुक उम्मेदवारले माथि उल्लेख गरिएका योग्यता खुल्ने प्रमाणित प्रतिलिपिहरु पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। सूचना आयुक्तमा कम्तीमा एक जना महिला हुनुपर्ने प्रावधान रहेको छ।

हाल आयोगका वर्तमान पदाधिकारीहरूको पदावधि समाप्त हुने क्रममा रहेकोले रिक्त हुने उक्त पदहरूमा योग्य र उपयुक्त व्यक्तिहरूको नियुक्तिका लागि सिफारिस गर्न ऐ. ऐनको दफा ११ को उपदफा (३) अनुसार गठित सिफारिस समितिको बैठकले आयोगको रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिस गर्न योग्य तथा इच्छुक उम्मेद्वारहरूबाट दरखास्त माग गर्ने निर्णय गरेअनुसार यो दरखास्त आह्वान गरेको बुझिएको छ।

प्रकाशित: ७ कार्तिक २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...