इन्टेलले ओरेगन क्षेत्रबाट आफ्ना १ हजार ३ सय कर्मचारी हटाउने

Technology Khabar २ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।

इन्टेलले आफ्नो गर्डन मूर पार्क फ्यासिलिटीबाट १ हजार ३ सय कर्मचारीहरूलाई हटाउने भएको छ। यसका लागि उसले ती कर्मचारीलाई औपचारिक सूचना पठाउन सुरू गरेको छ जसमा उनीहरूलाई अर्को महिना सम्ममात्र आफ्नो पदमा रहन समय दिइएको छ।

यो ठूलो मात्रामा भएको जागिर कटौती कम्पनीको १५% भन्दा बढी जनशक्ति घटाउने योजनाको हिस्सा भएको र यसले कम्पनीलाई ठूलो घाटापछि सुधार गर्न मद्दत पुर्‍याउने लक्ष्य राखेको प्रविधि समाचार संस्था टम्स हार्डवेयर डटकमले उल्लेख गरेको छ।

द अरेगोनियनको रिपोर्ट अनुसार यो कटौतीले ओरेगनमा रहेको इन्टेलको जनशक्तिको ५% भन्दा बढीलाई असर गर्नेछ र यसले राज्यको इतिहासमा भएको सबैभन्दा ठूलो जागिर कटौतीहरू मध्ये एक हुने अनुमान गरिएको छ।

यो कटौतीमा स्वेच्छिक अवकाश, बाईआउट (खरिद) र प्रारम्भिक अवकाश लिने कर्मचारीहरूको संख्या समावेश छैन। यस वर्षको सुरुमा इन्टेलको ओरेगन साइटमा २३ हजार कर्मचारी थिए र १५% कटौतीले यो संख्या २० हजारभन्दा कममा झार्नेछ।

१ हजार ३ हजार प्रभावित कर्मचारीहरू कम्पनीको लक्ष्य घटौतीको आधाभन्दा कम हुनेछन्। यदि कम्पनीले समान रूपमा कटौती लागू गर्‍यो भने स्वेच्छिक वा अनैच्छिक रूपमा कम्पनी छोड्ने कर्मचारीहरूको संख्या ३ हजारभन्दा बढी पुग्न सक्ने अनुमान छ।

तर कम्पनीको अन्य विभागहरू अझै कडा रूपमा प्रभावित भएका छन्, जसमा बिक्री र मार्केटिङ समूह (एसएमजी) ले ३५% लागत कटौती सामना गरिरहेको छ। इन्टेलले एसएमजीमा कति जागिरहरू कटौती हुने भनेर स्पष्ट भनेको छैन तर यो ठूलो बजेट कटौतीका कारण धेरै जागिरहरू र कार्यक्रमहरू जोखिममा छन्।

टम्स हार्डवेयर डटकमका अनुसार इन्टेलको समस्या अगस्टको त्रैमासिक आम्दानी कलमा सार्वजनिक भयो। उक्त कलले कम्पनीले १.६ अर्ब डलर घाटा बेहोरेको छ जसको मुख्य कारण एआई प्रतिस्पर्धामा पछि पर्नु र १३औं/१४औं पुस्ताका सीपीयूहरूको असफलता थियो।

अब कम्पनी जीवित रहन संघर्ष गर्दैछ र जसमा सम्पत्ति कटौती गर्ने र परियोजनाहरूलाई होल्डमा राख्ने योजना बनाइरहेको बुझिएको छ। यसबाहेक क्वालकमले इन्टेलको केही व्यापार भाग किन्न प्रस्ताव गरेको अफवाहहरू पनि चलेका छन्।

प्रकाशित: २ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया