मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम एक महिनामा १३ अर्बभन्दा बढीले घट्यो

  • Technology Khabar | १ कार्तिक २०८१, बिहीबार
मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम एक महिनामा १३ अर्बभन्दा बढीले घट्यो

काठमाडौं ।

नेपालमा पछिल्लो महिना मोबाइल मार्फत बैंकिङ कारोबार गर्ने प्रवृत्ति घट्दो क्रममा रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८१ भदौको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा गिरावट आएको हो।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउन मसान्तमा मोबाइल बैंकिङमार्फत् ४ करोड ७४ लाख ६० हजार २४५ कारोबार भएको थियो जुन आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असारको तुलनामा १७ लाख ९० हजार ९४४ ले बढी हो। तर साउनबाट भदौमा आउँदा भने कारोबार सङ्ख्यामा ४३ लाख १० हजार ३४६ ले कमी आएको छ।

कारोबार सङ्ख्या घटेसङ्गै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्ष २०७९/८० को अन्तिम महिनामा मोबाइल बैंकिङमार्फत् ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा आइपुग्दा ३ अर्ब ६५ करोड ४० लाख बढेर ३ खर्ब ७७ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको थियो।

तर साउन मसान्तबाट भदौ मसान्तसम्मको एक महिनामा भने मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम १३ अर्ब ३५ करोड ६० लाख रुपैयाँ घटेर समग्रमा ३ खर्ब ६४ अर्ब २७ करोड ७० लाख रुपैयाँमा झरेको विवरणले देखाएको छ।

प्रकाशित: १ कार्तिक २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार