
काठमाडौं ।
नेपालमा यो आर्थिक वर्षको दोस्रो महिनामा अर्थात् भदौसम्ममा ९ करोड २ लाख ९२ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका स्मार्ट विद्युतीय चुल्हो आयात भएका छन्।
यी चुल्होहरुमा इन्डक्शन तथा इन्फ्रारेडका साथै अन्य विद्युतीय चुल्होहरु पनि समावेश रहेको छ। हालै भन्सार विभागले जारी गरेको चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यो विवरण उल्लेख छ।
विवरण अनुसार भदौ महिनासम्मका ९ करोड २ लाख ९२ हजार बराबरका ४६ हजार ३७४ थान यस्ता विद्युतीय चुल्होहरु भित्रिएका छन्।
केही समययता देशमा लोडशेडिङ हटेको र सरकारले पनि ग्यास तथा पेट्रोलियमको सट्टा विद्युतमा आधारित उपकरणहरुको अत्यधिक प्रयोग गरी देशमा उत्पादि बिजुली खपत गर्न आग्रह गरे अनुसार ग्याँसको सट्टा यस्ता विद्युतीय चुल्होहरुको प्रयोग बढ्दै गइरहेको पाइएको छ।
यी समग्र विद्युतीय चुल्होहरु चीन, भारत तथा मलेसिया र सिंगापुर गरी चार देशबाट आयात गरिएको तथ्याङ्क छ।
चीन: इन्डक्शन – २८, ८६८ थान, इन्फ्रारेड – १४, ४५३ थान, अन्य विद्युतीय चुल्हो – १९६ थान
चालु आर्थिक वर्षको शुरुवाती २ महिनामा आयात भएका समग्र ४६ हजार ३७४ इन्डक्शन/ इन्फ्रारेड/अनुय विद्युतीय चुल्होहरुमध्ये सबैभन्दा धेरै चीनबाट २८ हजार ८६८ थान इन्डक्शन, १४ हजार ४५३ थान इन्फ्रारेड र १९६ थान अन्य विद्युतीय चुल्होहरु भित्रिएको पाइएको छ।
उक्त परिमाणका इन्डक्शन चुल्होको मूल्य ५ करोड ९१ लाख ४३ हजार रुपैयाँ, इन्फ्रारेड चुल्होको २ करोड ४६ लाख ८३ हजार रुपैयाँ अन्य विद्युतीय चुल्होको १४ लाख ५७ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
भारत: २२९३ थान, इन्फ्रारेड – ३०० थान, अन्य विद्युतीय चुल्हो-२४२ थान
यसपछि भारतबाट ३९ लाख २६ हजार बराबरको २ हजार २९३ थान इन्डक्शन, ७ लाख ९ हजार रुपैयाँ बराबरको ३०० थान इन्फ्रारेड तथा ३ लाख ७ हजार बराबरको २४२ थान अन्य विद्युतीय चुल्हो आयात गरिएको छ।
मलेसिया: इन्डक्शन – ६ थान, इन्फ्रारेड – x, अन्य विद्युतीय चुल्हो-x
यस्तै मलेसियाबाट भने चीन र भारतको तुलनामा निकै नगण्य परिमाणमा इन्डक्शन चुल्हो ल्याइएको छ भने इन्फ्रारेड र अन्य विद्युतीय चुल्हो आयात भएको देखिँदैन। मलेसियाबाट ३२ हजार बराबरको ६ थान इन्डक्शन चुल्हो ल्याइएको छ।
सिंगापुर: इन्डक्शन – ४ थान, इन्फ्रारेड – x, अन्य विद्युतीय चुल्हो-१ थान
यो अवधिमा सिंगापुरबाट ५ हजार बराबरको ४ थान इन्डक्शन चुल्हो र २ हजार बराबरको १ थान अन्य विद्युतीय चुल्हो ल्याइएको छ। सिंगापुरबाट इन्फ्रारेड चुल्हो आएको छैन।
संयुक्त अरब इमिरेट्स: इन्डक्शन – ११ थान, इन्फ्रारेड – x, अन्य विद्युतीय चुल्हो-x थान
यसैगरी यो अवधिमा खाडी मुलुक संयुक्त अरब इमिरेट्सबाट २६ हजार बराबरको ११ थान इण्डक्शन चुल्हो आएको छ। यो मुलुकबाट इन्फ्रारेड तथा अन्य विद्युतीय चुल्हो आएको तथ्याङ्क छैन।
प्रकाशित: १५ आश्विन २०८१, मंगलवार