
काठमाडौं ।
खगोलशास्त्रीहरूले एउटा टाढाको ग्रह पत्ता लगाएका छन् जसले हामीलाई पृथ्वी ८ अर्ब वर्ष पछि कस्तो देखिन सक्छ भन्ने दुर्लभ झलक प्रदान गरेको छ।
KMT-2020-BLG-0414 नामक यो ग्रह पृथ्वीबाट ४,००० प्रकाशवर्ष टाढा रहेको छ र यसले एउटा सेतो पुड्के तारालाई परिक्रमा गरिरहेको छ। सेतो पुड्के तारा भनेको एउटा मरेको ताराको ध्वंसावशेष हो, जसमा अब तारा जलिरहेको हुँदैन। हाम्रो सूर्य पनि ५ अर्ब वर्षपछि सेतो पुड्के बन्ने अपेक्षा गरिएको छ।
त्यसअघि सूर्यले पहिलो चरणमा आफ्नो आकार बढाएर रातो विशालकाय (रेड जायन्ट) मा परिणत हुनेछ, जसले बुध, शुक्र, र सम्भवतः पृथ्वी र मङ्गल ग्रहलाई पनि निल्न सक्ने लाइभसाइन्स डटकमले उल्लेख गरेको छ।
यदि हाम्रो ग्रह बचेको अवस्थामा, भविष्यमा यो टाढाको ग्रह जस्तो देखिन सक्छ, जुन ठण्डा हुँदै गरेको मर्ने ताराको अवशेषबाट टाढा हुँदै जान्छ। यो टाढाको ग्रहको बारेमा अनुसन्धानकर्ताहरूले सेप्टेम्बर २६ मा नेचर एस्ट्रोनोमी पत्रिकामा वर्णन गरेका छन्।
“हामीसँग अहिले पृथ्वीलाई ६ अर्ब वर्षमा रातो विशालकाय सूर्यले निल्नबाट बचाउन सकिन्छ कि सकिँदैन भन्ने कुराको यकिन प्रमाण छैन,” अनुसन्धानको नेतृत्व गरेका क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका खगोलशास्त्री केमिङ झाङले बताएका छन्।
“कुनै पनि अवस्थामा रातो विशालकायले निल्ने जोखिम आउनु अघि नै पृथ्वी अझै अर्को १ अर्ब वर्षसम्म मात्र बस्न योग्य रहनेछ र त्यसमाथि पनि पृथ्वीका महासागरहरू अत्यधिक हरितगृह प्रभावले वाष्पित हुनेछन्।”
लाइभसाइन्स डटकमका अनुसार ताराहरूले आफ्नो जीवनको अधिकांश समय हाइड्रोजनलाई हिलियममा परिणत गर्दै जलाउँछन्। तर जब तिनीहरूको हाइड्रोजन इन्धन सकिन्छ, तिनीहरू हिलियमलाई फ्यूज गर्न थाल्छन्, जसले गर्दा तिनको ऊर्जा उत्पादन अत्यधिक बढ्छ र उनीहरूको आकार सयौं वा हजारौं गुणा ठूलो हुन्छ।
यस क्रममा, नजिकका ग्रहहरूलाई निल्दै तिनीहरू रातो विशालकाय (रेड जायन्ट) मा परिणत हुन्छन्।
यो टाढाको ग्रह प्रणाली हाम्रो आकाशगङ्गाको केन्द्रमा रहेको उठेको भागको नजिक अवस्थित छ र सन् २०२० मा खगोलशास्त्रीहरूले पहिलो पटक यो पत्ता लगाएका थिए।
त्यतिबेला यो प्रणाली पृथ्वीबाट २५,००० प्रकाशवर्ष टाढा रहेको एक अरू टाढाको ताराको प्रकाश अघि सरेको थियो। गुरुत्वाकर्षणले स्थानलाई विकृत पार्ने हुँदा, यस प्रणालीले टाढाको ताराको प्रकाशलाई “गुरुत्वाकर्षण लेन्स” को रूपमा विकृत गर्यो, जसले गर्दा यसको उपस्थिति देखियो।
खगोलशास्त्रीहरूले तारालाई नजिकबाट हेरेपछि उनीहरूले उक्त ग्रहलाई देखे, जुन पृथ्वीको दुई गुणा ठूलो छ र आफ्नो सेतो पुड्के तारालाई पृथ्वी र सूर्यको बीचको दूरीको एकदेखि दुई गुणा दूरीमा परिक्रमा गरिरहेको छ।
यस प्रणालीमा लगभग बृहस्पति जत्तिकै ठूलो १७ गुणा द्रव्यमान भएको ब्राउन ड्वार्फ (खैरो पुड्के) तारा पनि छ — जुन एउटा असफल तारा हो जुन कहिल्यै प्रज्वलन हुन सकेन।
मानवता धेरै टाढाको भविष्यमा के कस्तो हुन्छ भन्ने कुरा धेरै अनुमानको विषय हो। वैज्ञानिकहरूलाई थाहा छैन कि मानव जीवनले रातो विशाल तारा चरणबाट बाँचेको देख्न सक्छ कि सक्दैन, वा अर्को १ अर्ब वर्षमा समुद्रहरू उम्लने हुँदा मानिसहरूले पृथ्वीलाई जोगाउन सक्ने छन् कि छैनन्।
यद्यपि झाङले अनुमान गरे अनुसार एक दिन मानिसहरू अहिले बरफले ढाकिएका युरोपा र एनसेलाडस जस्ता चन्द्रमामा बसाइँ सर्न सक्न सक्छन्, जसले क्रमशः बृहस्पति र शनि ग्रहलाई परिक्रमा गर्छन्। यी बरफका दुनियाँहरू सूर्यको अन्तिम चरणमा पानीका ग्रहहरूमा परिणत हुनेछन्।
“जब सूर्य रातो विशालकाय बन्छ, बस्न योग्य क्षेत्र (ह्याबिटेबल जोन) बृहस्पति र शनि ग्रहको कक्षमा सर्नेछ, र तीमध्ये धेरै चन्द्रमाहरू महासागर ग्रहहरूमा परिणत हुनेछन्,” झाङले भने। “त्यो अवस्थामा, मानवता त्यहाँ सर्न सक्ला भन्ने मेरो विचार छ।”
प्रकाशित: १५ आश्विन २०८१, मंगलवार