दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

  • Technology Khabar | १२ आश्विन २०८१, शनिबार
दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिबार मन्त्रालयमा बसेको बैठकमा दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिँदै। तस्बिर : नारायणप्रसाद न्यौपाने/रासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ।

केही दिनदेखि देशभर भइरहेको अविरल रुपमा भएको वर्षा र सोका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले उक्त निर्देशन दिएको हो।

बैठकले ती सेवा निरन्तरताको सम्बन्धमा कुनै समस्या भएमा वा अन्य निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएमा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मन्त्रालयमा जानकारी गराउन पनि निर्देशन दिएको छ।

मन्त्रालयले विपद् प्रतिकार्य, उद्धार तथा राहतका सम्बन्धमा नेपाल सरकारबाट भएका निर्णयसम्बन्धी विषयवस्तु प्रभावकारी र नियमित रुपमा प्रचारप्रसार गरी जनतालाई समयमै सुसूचित गर्ने/गराउने निर्णयसमेत गरेको छ।

बैठकमा मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका सूचना प्रविधिविज्ञ डा शालिकराम पराजुली, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, रेडियो नेपालका कार्यकारी निर्देशक अम्मरध्वज लामा र एनसेलका सिआरओ विशालमणि उपाध्याय र इन्टरनेट सेवा प्रदायक संस्था ‘आइस्पान’का प्रमुख कार्यकारी अधिकृत सुवास खड्कालगायत सहभागी थिए। रासस

प्रकाशित: १२ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...