Technology Khabar ८ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक (एमडी) तथा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलको कर चुक्ता प्रमाणपत्र नक्कली भेटिएको छ।
भ्रष्टाचारको अभियोगमा डिल्लीबजार कारागारमा रहेका पौडेलविरुद्ध कर चुक्ता प्रमाणपत्र नक्कली भेटिएपछि लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।
अख्तियारले पत्र पठाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले पौडेलको कर चुक्ता प्रमाणपत्र फर्जी रहेको निष्कर्ष निकालेको थियो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले असोज २ गते पौडेलविरुद्ध लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी उजुरीमा अख्तियारले अनुसन्धान शुरु गरेर सोही क्रममा पौडेलको शान्तिनगरमा रहेको घरमा छापा मार्दा कर चुक्ता प्रमाणपत्रसहितका कागजात बरामद गरेको थियो।
आन्तरिक राजश्व कार्यालय पुतलीसडकबाट जारी भएका कर चुक्ता प्रमाणपत्र बारेमा जाँच गर्दा ती कागजात फर्जी भएको खुलासा भएको थियो।
पौडेलविरुद्ध परेको उजुरीमा मुलुकी फौजदारी अपराध संहिताको दफा २७६ को उपदफा ३ को खण्ड (ग) को कसुर अनुसार कारबाही गर्न मागदावी गरिएको उल्लेख छ।
प्रकाशित: ८ आश्विन २०८१, मंगलवार