सिंहदरबारमा ई-पास लागू हुने

Technology Khabar ८ आश्विन २०८१, मंगलवार

सिंहदरबारमा ई-पास लागू हुने
फाइल तस्बिर।

काठमाडौं ।

अब सिंहदरबारमा ई-पास लागू हुने भएको छ। यसअघि भौतिक पासको व्यवस्था हुने भए पनि असोज ७ बजे बसेको सचिव बैठकले ई-पास प्रणाली कार्यन्वयनमा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकले २४ बुँदे निर्णय गर्दै गृह मन्त्रालयलाई शहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा ई-पास प्रणाली कार्यन्वयनमा ल्याउन निर्देशन दिएको हो।

ई-पास लागू भएको खण्डमा आफ्नै मोबाइल वा अन्य डिभाइसमा देखाउन मिल्ने हुँदा सिंहदरबार आउजाउ गरिरहनुपर्ने व्यक्तिहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ।

गत असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको थियो।

विगतमा विभिन्न मन्त्रालयबाट जारी गरिएका अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि अहिले ती पास खारेज गर्न लागिएको बुझिएको छ।

‘सिंहदरबार गेटपास’ वेबसाइटमा गएर अकाउन्ट बनाई युजर आइडी र पासवर्ड राखेर अनलाइनबाट अनुरोध गर्ने तथा गेटपास पाउन आधारभूत विवरण भर्नुपर्ने प्रणाली बनाइएको छ।

प्रकाशित: ८ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया