राइड सेयरिङ प्लेटफर्म पठाओको छैटौंं वार्षिकोत्सव, किराना, खाजा घर र गेम्सको सुविधा थप

Technology Khabar ८ आश्विन २०८१, मंगलवार

काठमाडौं ।

राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ। सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए।

“हाल सेयर राइडका साथै फूड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउनेछन्, यसबाट ग्राहकलाई सहजता हुनेमा हामीले विश्वास लिएका छौँ”, उनले भने।

थप गरिएका सेवाहरु हाललाई काठमाडौँ उपत्यकामा मात्र उपलब्ध हुनेछन्।

कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुआत गर्न लागेको जनाएको छ। कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ। पठाओ एपको बजार सेक्सनभित्र किरानाको सेवा उपलब्ध हुने जनाइएको छ। पठाओ खाजा घरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ।

बिक्रेताहरु भने पठाओ किराना र पठाओ खाजा घरमा आबद्ध हुनका लागि अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ। बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ। अर्थात् बिक्रेताले पठाओ किराना र पठाओ खाजामार्फत भएको व्यापारको कमिसनवापत कुनै शुल्क बुझाउनु नपर्ने बस्न्यात बताउँछन्। डेलिभरी भने किराना या खाजा घरका कर्मचारी आफैँ गर्नुपर्नेछ।

पठाओ किराना र पठाओ खाजा घर सुरुवातमा साधारण रुपमा सञ्चालन हुनेछन् तर पठाओले एक वर्षभित्र पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बनाउने कम्पनीले जनाएको छ।

त्यसैगरी कम्पनीले वार्षिकोत्सवका अवसरमा ग्राहकको मनोरञ्जनका लागि पठाओ गेम्स सेवा पनि ल्याएको छ। उक्त गेम्स खेल्ने ग्राहकले प्वाइन्ट्सका आधारमा गिफ्ट र पठाओका सेवामा छुट पाउन सक्नेछन्।

हाल पठाओले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको जनाएको छ।

प्रकाशित: ८ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया