
काठमाडौं ।
आइतबार साइबर अपराधको अभियोगमा पक्राऊ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
आइतबार प्रहरी प्रधान कार्यालय साइबर अपराध ब्युरोले प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नबिन्द्र अर्यालले जानकारी दिएका थिए।
प्रसाईविरुद्ध एक महिलाले आफ्नो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा लिखित उजुरी दर्ता गराएको र त्यसै अनुरुप सोधपूछ रअनुसन्धानका लागि उनलाई पक्राऊ गरिएको अर्यालले जानकारी दिए।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा विभिन्न गतिविधि गर्दै आएका प्रसाईँले सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिमाथि मिथ्या अरोप लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएको भनी उजुरी परेका ब्युरोले जनाएको छ।
साइबर अपराधको कसुरमा ब्युरोले प्रसाईँसहित युट्युब सञ्चालक बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट गत बुधबार पक्राउ अनुमति लिएको थियो।
पक्राउ पुर्जीसहित निवासमा पुगेको प्रहरीलाई प्रसाईँले घरभित्र प्रवेश गर्न नदिई आफू बाहिर निस्कन इन्कार गरेपछि प्रहरीले पर्खाल नाघेर घरभित्र प्रवेश गरी प्रसाईलाई नियन्त्रणमा लिएको थियो। सोही सिलसिलामा प्रसाईँमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतले साइबर ब्युरोलाई तीन दिन म्याद थपिदिएको हो।
आजको गोरखापत्रबाट
प्रकाशित: ७ आश्विन २०८१, सोमबार