Technology Khabar ६ आश्विन २०८१, आईतवार
काठमाडौं ।
चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी ह्वावेले यो महिनाको सुरुमा पहिलो ट्राइ-फोल्ड स्मार्टफोन मेट एक्सटी अल्टिमेट डिजाइन (Mate XT Ultimate Design) सार्वजनिक गरेको छ। यो स्मार्टफोनको बिक्री शुक्रबारदेखि चीनमा सुरु भएको छ।
तर, यो स्मार्टफोनका धेरै ग्राहकहरु निराश भएका छन् किनभने कम्पनीले यसलाई प्रि-अर्डर गरेका ग्राहकहरुलाई मात्र बिक्री गरिरहेको छ।
रोयटर्सको रिपोर्टअनुसार बेइजिङ र शेन्जेनका मोबाइल स्टोरहरूमा गएका धेरै ग्राहकहरूले बिक्रीको सुरुमा मेट एक्सटी अल्टिमेट डिजाइन किन्न नसक्दा निराश भएका थिए। यो स्मार्टफोन ग्राहकहरुका लागि मात्र उपलब्ध थियो जसको प्रि-अर्डर ह्वावेद्वारा पुष्टि गरिएको थियो।
हाल यो फोन आउट अफ स्टक रहेको बताईएको छ। अर्को बिक्री कहिले शुरु हुन्छ भन्ने जानकारी छैन्।
१६ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको यो स्मार्टफोनको बेस भेरियन्टको मूल्य १९,९९९ युआन छ। यसको ५१२ जीबी र १ टिबी भण्डारण भेरियन्टको मूल्य क्रमशः २१,९९९ र २३,९९९ युआन छ। मेट एक्सटी अल्टिमेट डिजाइन रातो र कालो रंगमा उपलब्ध गराइएको छ। यो डुअल सिम स्मार्टफोन हार्मोनीओएस ४.२ आउट-अफ-द-बक्समा चल्छ। यसको स्क्रिन खोल्दा १०.२ इन्च (३,१८४ x २,२३२ पिक्सेल) हुन्छ। यस स्मार्टफोनको लचिलो एलटीपीओ ओएलईडी स्क्रिनका साथ एक पटक फोल्ड गर्दा ७.९ इन्च (२,०४८ x २,२३२ पिक्सेल) र दोस्रो पटक फोल्ड गर्दा ६.४ इन्च (१,००८ x २,२३२ पिक्सेल) छ।
कम्पनीले मेट एक्सटी अल्टिमेट डिजाइनको प्रोसेसर बारे जानकारी दिएको छैन। यसमा अप्टिकल इमेज स्टेबलाइजेसनका साथ बाहिर ५० मेगापिक्सेल क्यामरा छ। यो स्मार्टफोनमा १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा र ५.५ गुणा अप्टिकल जूम भएको १२ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा छ। सेल्फी र भिडियो कलको लागि यसको डिस्प्लेमा ८ मेगापिक्सेल क्यामेरा छ।
यो स्मार्टफोनबाट ह्वावेले फोल्डेबल स्मार्टफोनको द्रुत रूपमा बढिरहेको बजारमा दक्षिण कोरियाको सामसङलाई कडा प्रतिस्पर्धा दिन सक्ने अनुमान छ।
प्रकाशित: ६ आश्विन २०८१, आईतवार