Technology Khabar ३१ भाद्र २०८१, सोमबार
काठमाडौं ।
विशेष अदालतले भिडियो कन्फरेसमार्फत दोस्रोपटक थुनछेक कार्य सम्पन्न गरेको छ।
विशेष अदालतमा आज भादौ ३१ गते १२ जना प्रतिवादीको भिडियो कन्फरेसमार्फत बयान कार्य सम्पन्न भई थुनछेक कार्यसमेत सम्पन्न भएको हो।
विशेष अदालतमा विचाराधीन सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दा नं. ०८०-CR- ०१११ का ८ जना र मुद्दा नं. ०८०-CR- ०११२ का ४ जना प्रतिवादीहरू गरी जम्मा १२ जना प्रतिवादीको थुनछेक कार्य सम्पन्न भएको अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए।
आज थुनछेक कार्य सम्पन्न भएका प्रतिवादीहरूले झापा जिल्ला अदालतमा उपस्थित भई श्रव्यदृश्यमार्फत बयान कार्यमा सहभागी भएका थिए।
विशेष अदालतमा भिडियो कन्फरेसमार्फत बयान कार्य भई थुनछेक आदेश भएको यो दोस्रोपटक हो। यसअघि सुर्खेत जिल्ला अदालतमा प्रतिवादी उपस्थित भई थुनछेक आदेश भएको थियो।
नागरिकलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न सूचना प्रविधिका माध्यमबाट विशेष अदालतले सुरू गरेको भिडियो कन्फरेसमार्फत मुद्दाको सुनुवाई कार्यले न्यायमा नागरिकको पहुँच स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विशेष अदालतले जनाएको छ।
प्रकाशित: ३१ भाद्र २०८१, सोमबार