भारतको मणिपुर सरकारद्वारा पाँच जिल्लामा इन्टरनेट प्रतिबन्धमा विस्तार

  • Technology Khabar | ३१ भाद्र २०८१, सोमबार
भारतको मणिपुर सरकारद्वारा पाँच जिल्लामा इन्टरनेट प्रतिबन्धमा विस्तार

काठमाडौं ।

भारतको मणिपुर राज्य सरकारले आइतबार पाँच जिल्लामा इन्टरनेट र मोबाइल डाटा सेवाहरूको प्रतिबन्ध सेप्टेम्बर २० सम्म विस्तार गरेको छ।

राज्यको गृह विभागले इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ जिल्लामा ‘भिस्याट र भिपिएन’ सेवासहित इन्टरनेट र मोबाइल डेटा सेवाहरूको निलम्बन विस्तार गर्ने आदेश जारी गर्यो।

यसअघि राज्य सरकारले सेप्टेम्बर १० गतेदेखि सुरुमा पाँच दिनसम्म राज्यमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध आइतबार सकिने भनिए पनि शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सरकारले लम्ब्याउने निर्णय गरेको हो।

सेप्टेम्बर १३ मा केन्द्रीय रिजर्भ प्रहरी बल (सिआरपिएफ) का डिआइजी मनीष कुमार सच्चरले मणिपुरको काङ्गपोकपी जिल्लाको थाङ्कानफाइ गाउँ र साइकुल हिलटाउनको सोङ्गपेहजाङ राहत शिविरको भ्रमण गरी कुकी समुदायका प्रतिनिधिहरूसँग कुराकानी गरे।

एएनआईसँग कुरा गर्दा उनले भने, “एक सयभन्दा बढी परिवार राहत शिविरमा बसिरहेका छन्। उनीहरूको सामान्य जीवनमा फर्कनबाहेक अरू कुनै माग छैन।”

यसैबीच सेप्टेम्बर १२ मा भारतीय सेना र मणिपुर प्रहरीले केन्द्रीय रिजर्भ पुलिस बल (सिआरपिएफ) र सीमा सुरक्षा बलसँगको संयुक्त अपरेशनमा चुराचन्दपुर जिल्लामा ठूलो मात्रामा हतियार, गोलाबारुद र अन्य युद्धजन्य सामग्री बरामद गरेको थियो।

विशेष सूचनाका आधारमा चुराचन्दपुर जिल्लाको मौलसाङ क्षेत्रमा सेना, मणिपुर प्रहरी र सिआरपिएफले म्यागजिनसहितको एक ७.६२ एमएम एके सिरिज असल्ट राइफल, तीन मध्यम आकारका इम्प्रोभाइज्ड मोर्टार (पोम्पी) बरामद गरेका थिए । रासस/एएनआई

प्रकाशित: ३१ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...