क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन विदेशी नागरिक सहित ५० जना पक्राउ

Technology Khabar २७ भाद्र २०८१, बिहीबार

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन बिदेशी नागरिक सहित ५० जनालाई ललितपुरबाट पक्राउ गरेको छ।

विदेशी नागरिकहरुले नेपालीहरुको समेत मिलेमतोमा एकान्तकुना, एकतावस्ती स्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा लिई कलसेन्टर संचालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी रुपमा काममा लगाई रहेको भन्ने विशेष सुचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्यूरोले आज तीन जना विदेशी नागरिकहरु सहित जम्मा ५० जना व्यक्तिहरुलाई  कल सेन्टरमा प्रयोग गरिएका कम्प्यूटर, मोबाईल लगायतका ईलेक्ट्रोनिक्स उपकरणहरु सहित नियन्त्रणमा लिएको हो।

सीआईबीले चिनियाँ नागरिकहरु डिङ्ग जियाहोङ्ग र लिन क्विनजीन, फिलिपिनी नागरिक हानिपा सिनसुवाट र नेपाली नागरिकहरु कमल कँडेल, संदिप आचार्य, सुजन प्रधान, बिजय बहादुर गिरी, सुदिप अधिकारीलाई पक्राउ गरेको हो।

प्रहरीले सो स्थानबाट कम्प्युटर ५५ थान, मोबाईल १९४ थान, ल्यापटप ४ थान, लगायतका उपकरणहरु नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट Hingee, Bumble, Muslima, Inshaaaah, Salam, Muzz, Okcupid, Alkhattba लगायतका डेटिङ्ग एप्समा विदेशी महिलाको फोटो प्रोफाइल पिक्चरको रुपमा प्रयोग गरी युरोप, अमेरिका र क्यानडा लगायतका विभिन्न देशहरुका पुरुष ब्यक्तिहरुलाई साथी बनाई घनिष्ट मित्रता कायम गरी अनलाइन प्लेटफर्म ह्यासप्याक मार्फत बाइनान्स, ट्रष्ट वालेट लगायतका बिभिन्न डिजिटल वालेटहरुमा अमेरिकी डलर जम्मा गर्ने गरेको पत्ता लागेको थियो।

प्रहरीकाअनुसार त्यस्ता वालेट मार्फत गैरकानुनी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) मा लगानी तथा सो को कारोबार जस्ता क्रियाकलाप संचालन गर्ने गरेको खुल्न आएको छ।

पक्राउ गरिएका विदेशी नागरिक सहितका नेपाली व्यक्तिहरु केही समय अगाडी संयुक्त अरब ईमिरेट्समा सोही प्रकृतिको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परी सम्बन्धित देशहरुमा फिर्ता भएकोमा पुनः नेपालमा एकिकृत भई कल सेन्टर खोली अभौतिक मुद्राको कारोबार गरेको बताईएको छ।

प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न मुख्य ३ विदेशी र ५ नेपाली नागरिक उपर “मुलुकी अपराध संहिता, २०७४ (संशोधन सहित) परिच्छेद ७ ९क० दफा २६२ ९क० ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ सम्बन्धि कसुर अन्तर्गत मुद्धा दर्ता गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप भई अनुसन्धान भईरहेको सीआईबीले जनाएको छ।

पक्राउ गरिएका अन्य ४२ जना व्यक्तिहरुको हकमा हाजिर जमानीमा राखी अनुसन्धान भईरहेको उल्लेख छ।

यसका साथै अभौतिक मुद्रा कारोबार गर्ने तथा गराउनेलाई निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा जानकारी गराउन समेत प्रहरीले आग्रह गरेको छ।

 

प्रकाशित: २७ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया