नयाँ मेशीनमार्फत् महोत्तरीको ग्रामीण अस्पतालमा शुरु भयो आधुनिक प्रविधिको शल्यक्रिया

Technology Khabar २७ भाद्र २०८१, बिहीबार

काठमाडौं ।

महोत्तरी जिल्लाको एउटा ग्रामीण बस्तीमा सञ्चालित अस्पतालमा आधुनिक प्रविधिको मेशिनमार्फत् पित्तथैलीको पत्थरी शल्यक्रिया शुरु भएको छ।

रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पतालले यो दूरबिन प्रविधि नामक आधुनिक प्रविधिबाट पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया थालेको हो। यो अस्पताल भारतीय सीमानजिक पर्दछ।

जिल्लाको सुदूर दक्षिणपश्चिमी ग्रामीण भेगमा सञ्चालित अस्पतालले यो आधुनिक प्रविधिको शल्यक्रिया सफलतापूर्वक गरेपछि अब यस प्रकृतिका बिरामीले आफ्नै गाउँघरमा सेवा पाउने भएका छन्।

गत मङ्गलबार अस्पतालका शल्य चिकित्सकद्वय डा अश्विनीकुमार यादव र डा मनिषकुमार ठाकुरले यो प्रविधिबाट एक बिरामीको शल्यक्रिया गरेका हुन्। यो सफलतासँगै अस्पतालले अब पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया यहीँ गरिने घोषणा गरेको छ।

“अस्पतालमा दक्ष चिकित्सक र आधुनिक प्रविधि दुवै उपलब्ध छन्, अब यस प्रकृतिका बिरामीले उपचारका लागि टाढा जानु पर्दैन,” अस्पताल सञ्चालकमध्येका एक डा सुरेन्द्रकुमार यादवले भने। अब पत्थरीको उपचारका लागि जनकपुर, विराटनगर, धरान र काठमाडौँ तथा भारतका दरभङ्गा र पटना पुग्नुपर्ने बाध्यता हटेको छ।

जिल्लाको गौशाला, सोनमा, औरही र सम्सीसहितका स्थानीय तह अस्पताल वरिपरि छन्। नेपाल–भारत सीमा अस्पतालबाट चार किलोमिटरको दूरीमा छ। यहाँ उपचार सोव लिन गौशाला, सोनमा, औरही, सम्सी र रामगोपालपुरसहितका स्थानीय तहका करिब ४० बस्ती र भारतको सीतामढीका दर्जनाँै बस्तीका बिरामी यहाँ आउने गरेका छन्।

दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरिँदा बिरामीलाई घाउमा सङ्क्रमण नहुने चिकित्सकहरू बताउँछन्। यो प्रविधिबाट शल्यक्रिया गरिएकाहरू छ घण्टामै हिँड्डुल गर्नसक्ने र सामान्य दिनचर्यामा फर्कने डा अश्विनीकुमार यादवले बताए।

प्रकाशित: २७ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया