क्लाउड र एआई पूर्वाधारका लागि बेलायतमा साढे १० अर्ब डलर लगानी गर्दै अमेजन

Technology Khabar २७ भाद्र २०८१, बिहीबार

काठमाडौं ।

अमेरिकी ई-कमर्स जायन्ट अमेजनको क्लाउड शाखाले बेलायतमा डाटा सेन्टरहरू निर्माण र सञ्चालन गर्न आगामी पाँच वर्षमा साढे १० अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेको छ। यसबाट गर्दा देशमा क्लाउड कम्प्युटिङ प्रयासहरूलाई तीव्र पार्न सघाउ पुग्ने सीएनबीसीले उल्लेख गरेको छ।

यो लगानी लन्डनको समय अनुसार बुधबार बिहान घोषणा गरिएको थियो। हाल क्लाउड सेवा प्रदायकहरूले जेनेरेटिभ आर्टिफिशियल इन्टेलिजेन्सका फाइदाहरूलाई अघि बढाउँदै छन् र कम्पनीहरूले आफ्नो व्यवसायमा यो प्रविधिलाई समावेश गर्ने प्रयास गर्दै गरेको अवस्थामा यो खबर आएको हो।

“हामीले ब्रिटिश व्यवसायहरूले क्लाउड कम्प्युटिङ र एआई प्रविधिको वास्तविक प्रयोग देखेका छौं, र हामीलाई थाहा छ कि बेलायतको एकदम महत्त्वाकांक्षी डिजिटल योजना छ,” एडब्लूएसकी  युरोप, मध्यपूर्व र अफ्रिकाका प्रबन्ध निर्देशक तनुजा रान्डेरीले अन्तर्वार्ताका क्रममा भनिन्।

“त्यसैले यो लगानी हाम्रा ग्राहकहरूलाई क्लाउड कम्प्युटिङको वास्तविक फाइदा उठाउन मद्दत पुर्‍याउनेछ, किनकि क्लाउड कम्प्युटिङ प्रदान गर्नका लागि डेटा सेन्टरहरू आवश्यक छन्।”

रान्डेरीका अनुसार जेनेरेटिभ एआई “सायद हामीले देखेको सबैभन्दा परिवर्तनकारी प्रविधि हो, सम्भवतः क्लाउड र इन्टरनेट पछि” र व्यवसायहरूले हाल यो नयाँ प्रविधिको परीक्षण गरिरहेका छन्।

“हामीले यो पनि देखेका छौं कि व्यवसायहरूले यो प्रविधिलाई राजस्व वृद्धिका साथसाथै कर्मचारीको उत्पादकता बढाउन प्रयोग गर्दैछन्, जुन वास्तवमै महत्त्वपूर्ण छ, र विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम हुनका लागि पनि।” उनले थपिन्।

एडब्लूएस लगायत अन्य क्लाउड सेवा प्रदायकहरूले एआई मोडेलहरूलाई तालिम दिन र सञ्चालन गर्न डाटा सेन्टर र एनभिडिया चिप्सजस्ता पूर्वाधारमा ठूलो लगानी गरिरहेका छन्। यी क्लाउड सेवा प्रदायकहरूले त्यसपछि व्यवसायहरूलाई एआई सेवा बिक्री गर्दछन्।

एडब्लूएस माइक्रोसफ्ट र गुगलसँग बेलायतमामा प्रतिस्पर्धा गर्छ र यसको लगानीले कम्पनीको युरोपमा विस्तार गर्ने ध्यानलाई निरन्तरता दिएको छ। एडब्लूएस ले यस वर्ष जर्मनीमा अवस्थित क्लाउड पूर्वाधारमा ८ अर्ब ८० करोड यूरो लगानी गर्ने योजना पनि घोषणा गरेको छ।

तर यो लगानी विशेषगरी एडब्लूएस र माइक्रोसफ्टको गतिविधि जाँच्दै बेलायतका नियामकहरूले क्लाउड बजारमा प्रतिस्पर्धालाई नजिकबाट हेरिरहेको समयमा आएको छ। प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) ले हाल बेलायतको क्लाउड बजारको अध्ययन गरिरहेको बुझिएको छ।

रान्डेरीले भनिन्, एडब्लूएस सीएमएसँग “धेरै रचनात्मक रूपमा काम गर्दैछ” तर अधिकारीहरूले नियमन र नवप्रवर्तनको बीचमा सन्तुलन कायम राख्न आवश्यक छ।

“हामीले विश्वभरका सरकार र नियामकहरूसँग निकै नजिकबाट काम गरेका छौं, हामी विश्वास गर्छौं कि नियमन महत्त्वपूर्ण छ, तर त्यो नियमन नवप्रवर्तनमैत्री रहनु पर्छ,” रान्डेरीले सीएनबीसीलाई बताइन्।

प्रकाशित: २७ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया