
काठमाडौं ।
फेसबुकले हटाईदिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फेसबुक स्ट्याटस फिर्ता आएको छ।
धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले भदौ १८ गते मेयरको पेजको स्ट्याटस हटाईदिएको थियो।
हाल उक्त स्ट्याटस फेसबुकले रिभ्यू गरेर फिर्ता गरेको छ भने उक्त रिभ्यूमा फेसबुकले माफि समेत मागेको छ। यसका साथै उक्त स्ट्याटसले कुनै कम्युनिटी गाइडलाइन उलंघन नगरेको ठहर समेत गरेको छ।

मेयर शाहले फेसबुक पेजबाट आइतबार नेकपा (एमाले) लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माको फोटो सहित उनले बालशोषण गरेको भन्दै स्ट्याटस राखेका थिए।
‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने ? कि नसमाउने ?,’ उनको स्ट्याट्समा लेखिएको थियो।
मेयर बालेनले सोही स्ट्याटस अर्को सामाजिक संजाल एक्समा पनि राखेका थिए। तर एक्सको उक्त स्ट्याटस भने हटेको थिएन।
यसका साथै उनले सोही विषयमा थप स्ट्याटस पनि सोमबार फेसबुकमा लेखेका थिए। उक्त स्ट्याटस पनि हटेको थिएन्।
कसले हटायो मेयर बालेन शाहको फेसबुक पोस्ट? पोस्ट हटेपछि किन आयो अझ सशक्त ‘काउन्टर पोस्ट’?
सोही स्ट्याटसले गर्दा मेयर बालेन र नेकपा एमालेका कार्यकर्ताहरु बिच सामाजिक संजालमा जुहारी नै चलेको थियो। जसले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पेज अनफलो गर्ने ट्रेन्ड चलाईएको थियो।
प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार