Technology Khabar २१ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुलाई इन्टरनेटको शुल्क आफूखुशी नतोक्न चेतावनी दिएको छ।
प्राधिकरणले एक विज्ञप्ति प्रकाशन गरी दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गराउनु पर्ने जानकारी दिएको छ।
त्यसपछि सोही बमोजिम प्राधिकरणबाट महसुलदर स्वीकृत भएको मिति उल्लेख गरेर ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गरेपछि मात्र इन्टरनेट सेवाको महसुलदर लागू गर्न सबै सेवा प्रदायकलाई आग्रह गरेको हो।
प्राधिकरणको आर्थिक विश्लेषण शाखाबाट जारी उक्त सूचनामा अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरे वापत ग्राहकसँग लिने शुल्क / महशुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रुपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरेपश्चात् मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, ‘हाल कतिपय इन्टरनेट (इमेल सहित ) सेवा प्रदायकहरुले सेवाको शुल्क/महसुलदर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेबसाइटमा सूचना प्रकाशन गरेर लागू गरेको अवस्था देखिएकाले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ।’
प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार