Technology Khabar २१ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
नासाको अन्तरिक्षयानले अर्बिटमा फैलाउन सफल सोलर सेइल अर्थात् सौर्य पालले पृथ्वीलाई घुम्ने क्रममा अन्तररिक्षमै यताबाट उता गुल्टिन थालेको एक अवलोकनबाट पत्ता लागेको छ छ।
नासाका एक प्रतिनिधिले उक्त अत्याधुनिक पालले यस्तै प्रकारको गतिविधि गर्ने अपेक्षा गरिएको बताएको तर ठ्याक्कै के भएको हो भन्ने नबुझाएको अन्तरिक्ष सम्बन्धी समाचार संस्था लाइभसाइन्सले उल्लेख गरेको छ।
द एडभान्स्ड कम्पोजिट सोलर सेइल सिस्टम एसीएस३ नामक मिसनले नयाँ प्रकारको सौर्य पालको प्रभावकारिता परीक्षणका लागि अर्बिटमा लगेर छोडिएको हो।
यो पालको प्रयोगले सूर्यको प्रकाशबाट आएको रेडियोधर्मी किरणको दबाबका माध्यमबाट अन्तरिक्षयानहरुलाई हाल उपलब्ध भन्दा अझ छिटो गतिमा हुत्याउन सक्ने सामर्थ्ययुक्त रहेको बताइएको छ।
अनुसन्धानकर्ताहरुले यस प्रकारको प्रविधिले एक दिन मानिसलाई नै सौर्यमण्डलको किनारा वा त्योभन्दा पनि पर धकेल्ने अपेक्षा गरेका छन्। एसीएस३ अन्तरिक्षयान जम्मा ८६० वर्गफूटको फोइलको पाल रहेको बताइएको छ। यो हालसम्म माइक्रोवेभ ओभनको आकारको क्युबस्याट नामक स्याटलाइटमा पट्याएर राखिएको छ।
उक्त पाल फोल्डिङ बूमको एउटा नयाँ श्रृङ्खलाको मद्दतले एउटा सानो बक्सबाट बाहिर निस्केर तोकिएको स्थानमा बस्छ। यो पाल यसअघि रुस जापान नासा तथा अन्य निजी कम्पनीहरुले पठाएको सौर्य पालहरुभन्दा ७५ प्रतिशत हल्का पदार्थले बनेको र यसका फ्रेमहरुले पहिलेको भन्दा बढी रेडियशन सहनसक्ने समाचारमा उल्लेख छ।
गत २०२३ अप्रिलमा सफलतापूर्वक प्रक्षेपण गरिएको एसीएस३ का टोलीले उक्त पाल गत अगस्ट २६ मा उघार्न खोजे पनि २५ मिनेटसम्म प्रयास गर्दा त्यसमा लगाइएको मोटरबाट आवश्यकभन्दा बढी करेन्ट उत्पन्न भएका कारण यसै छोडेका थिए।
उक्त समस्या समाधान भएपछि अगस्ट २९ मा पूर्णरुपमा उघारिएको सिलिकन भ्यालीमा अवस्थित नासाको एमेस रिसर्च सेन्टरका मिशन वैज्ञानिकहरुले बताएका छन्।
क्युबस्याट लो अर्थ अर्बिटमा पृथ्वीको सतहभन्दा ९६५ किलोमिटर माथि राखिएको छ। यसलाई वैज्ञानिकहरुले उक्त पाल परिचालनको तयारी पूरा नहुन्जेल यसै रहन दिएका थिए।
वैज्ञानिक मार्को ल्याङ्ब्रोकले उक्त अन्तरिक्षयानको पृथ्वीबाट खिचेको टाइमल्याप्ससहितको शुरुवाती फोटोका अनुसार उक्त पाल नेदरल्याण्ड्स माथिको आकाशमा देखिन्छ भने यसबाट उक्त पाल राम्रैसँग फैलिएको पक्का हुने लाइभसाइन्सले उल्लेख गरेको छ।

त्यसको केही समयमा केही असामान्य घटना देखिन्छ। आइतबार ल्याङ्ब्रोकले एसी३एसको एउटा भिडियो सेयर गरे जसमा उक्त पालले लेइडेन नजिकैको स्याटलाइट ट्र्याकिङ स्टेशनमाथिको आकाश पार गर्ने बेला घरी चम्किलो त घरी मधुरो प्रकाश फालेको देखियो।
ती वैज्ञानिकले आफ्नो ब्लग पोस्टमा उक्त वस्तु एकैछिनमा ताराजत्तिकै चम्किलो र एकैछिनमा नदेखिने भएको व्याख्या गरेका छन्।
सेप्टेम्बर १ मा सौर्य पाल एकाएक ३० सेकेन्डको अवधिमा धेरै उज्यालो भएको एउटा भिडियो “mickeywzk” नामका प्रयोगकर्ताले एक्समा पोस्ट गरेका थिए।
उज्यालोमा भएको परिवर्तनले “अन्तरिक्ष यान अहिले बिस्तारै घुमिरहेको वा डगमगाइरहेको छ, जुन केही मिनेटको अवधिमा हुन्छ,” डा. ल्याङब्रोकले सोमबार (सेप्टेम्बर २) लाईभ साइन्सलाई इमेलमा भने।
अन्तरिक्ष यानको कक्षीय विचलन, वा पृथ्वीको वरिपरि घुम्ने मार्ग, पनि अगस्ट ३० पछि अलि सरेकोले यसको सम्बन्ध यो घुमाइसँग हुन सक्ने सम्भावना रहेको उनले थपे।

स्याटलाइट ट्र्याकिङ कम्पनी एस२ए सिस्टम्सका कर्मचारीहरूले पनि अगस्ट २९ मा स्विट्जरल्यान्डमा रहेको कम्पनीको आधारमा रहेको टेलिस्कोपबाट एसीएस३ को एउटा लाइट कर्भ पनि एकरुप नभएको देखे।
यसले अन्तरिक्ष यानले सम्भावित रुपमा “बिस्तारै घुमिरहेको” देखाएको थियो। तर शुरुवातमा यो पाल डगमगाइ रहेको भन्ने धारणालाई पूर्ण समर्थन गर्ने पर्याप्त प्रमाण भने नभएको लाइभसाइन्सले उल्लेख गरेको छ।
“हामी डा. ल्याङब्रोकको अवलोकनलाई सीधै पुष्टि गर्न सक्दैनौँ, तर उनको निष्कर्षलाई सम्भावित ठान्छौं,” एस२ए सिस्टमका प्रबन्ध निर्देशक रोजर स्पिनरले मंगलबार (सेप्टेम्बर ३) लाईभ साइन्सलाई इमेलमा भने।
बुधबार (सेप्टेम्बर ४) मा नासाका प्रतिनिधिहरूले अन्तरिक्ष यान वास्तवमै घुमिरहेको लाईभ साइन्सलाई पुष्टि गरे। “अन्तरिक्ष यान अहिले एक योजनाबद्ध पाल फैलाउने क्रमको भागको रूपमा घुमिरहेको छ,” नासाको स्पेस टेक्नोलोजी मिसन डाइरेक्टरेटका सार्वजनिक मामिला विशेषज्ञ ज्यास्मिन हप्किन्सले लाईभ साइन्सलाई इमेलमार्फत जानकारी दिइन्।
नासाका प्रतिनिधिहरूले यो घुमाईको गति वा फैलाउने प्रक्रियाबारे थप जानकारी खुलाएनन्। तर हप्किन्सले अन्तरिक्ष यानको अन्तरिक्ष यानको दिशा नियन्त्रण गर्ने उपकरण एटिट्युड कन्ट्रोल सिस्टम हाल काम नगरेको बताए।
मिशन टोली ‘पालको तनाव सन्तोषजनक” भएपछि एसी३एस पुनः सक्रिय गरिनेछ’, हप्किन्सले थपिन्। तर यो कहिले हुन सक्छ भन्ने कुनै सङ्केत छैन।
सौर्य पाल आगामी केही हप्ताहरूमा रातको समयमा आकाशमा नाङ्गो आँखाले देख्न सकिनेछ।
प्रकाशित: २१ भाद्र २०८१, शुक्रबार