नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा संगीता पहाडी नियुक्त

Technology Khabar २० भाद्र २०८१, बिहीबार

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा संगीता पहाडी नियुक्त
फाइल तस्बिर

काठमाडौं ।

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदमा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो।

हाल निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेकी पहाडीलाई टेलिकमको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि सरकारले तत्कालिन एमडी सुनिल पौडेल भ्रष्ट्राचार मुद्दामा निलम्बन भएपछि पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो।

पुष्पकमल दाहालको सरकारले पहाडीसहित टेलिकमकै डा. विमल आचार्य र अनिल झालाई एमडी पदमा नियुक्त गर्नका लागि सिफारिस गरेको थियो।

प्रचण्ड नेतृत्वको सरकारले अन्तिम समयमा आचार्यलाई एमडी बनाउने तयारी गरेको थियो। तर राजनीतिक दबाबका बिच उक्त निर्णय रोकिएको थियो।

त्यससँगै एमडी नियुक्ति प्रकृया नै अवरुद्ध भएको थियो। हालै सरकारले सोही सिफारिसलाई मान्यता दिँदै पहाडीलाई एमडी पदमा नियुक्त गरेको हो।

प्रकाशित: २० भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया