Technology Khabar १९ भाद्र २०८१, बुधबार
काठमाडौं ।
खगोलविदहरुले हालै हिन्दू धर्मको पुरानो ग्रन्थ ऋग्वेदमा ६ हजार वर्षअघि लागेको खग्रास सूर्य ग्रहणका बारेमा उल्लेख गरिएको भेटेका छन्। यो प्रसङ्ग ग्रहणका बारेमा हालसम्म लिखित रुपमा भेटिएको सबैभन्दा पुरानो भएको अन्तरिक्षसम्बन्धी वेबसाइट स्पेस डटकमले लेखेको छ।
हिन्दू धर्मअन्तर्गतका विभिन्न धार्मिक तथा दार्शनिक विचारधारा भएका समूहहरुको भनाई तथा भजनहरुका साथै सुक्तिहरु समावेश भएको यो ग्रन्थ १५०० बीसी अर्थात् आजभन्दा करिब ५ हजार वर्ष पहिले लेखिएको प्रामाणिक प्रसङ्ग छ। तर केही विचारकहरुले यसभन्दा अझै बढी समयअघि लेखिएको भन्ने तर्क पनि गर्दै आएका छन्।
उदाहरणका लागि ऋग्वेदका थुप्रै हरफहरुमा वसन्त विषुव अर्थात् वर्षको २ दिन सूर्य भूमध्यरेखाको ठिक माथि रहने हुनाले दिन र रात बराबर हुने समयमा सूर्योदय हुँदा सूर्यको स्थान कहाँ हुन्छ भनेर उल्लेख गरिएको छ।
यीमध्ये एउटा दृष्टान्तले दुई विषुवमध्ये वसन्त विषुव कालपुरुष तारामण्डलमा तथा अर्को विषुव कृत्तिकामा पर्ने पनि लेखिएको छ।
यी वर्णनहरुले खगोलविदहरुलाई उक्त प्रसङ्गहरुको मिति यकिन गर्न सघाउ पुर्याएको छ। पृथ्वी आफ्नो अक्षमा लट्टू खेलौना जस्तै गरी घुम्ने भएकाले महत्वपूर्ण खगोलीय घटनाहरुको पेक्ष स्थान परिवर्तन गरिरहेको हुन्छ। अहिले विषुव मीन राशीमा अवस्थित छ।
यो विषुव करिब साढे ४ हजार वर्षअघि कालपुरुषमा रहेको थियो भने २२३० वर्ष पहिले कृत्तिकामा रहेको उल्लेख छ। यसको मतलब ऋग्वेदले आफू लेखिएको समयभन्दा पनि अघिका केही महत्वपूर्ण घटनाक्रमहरु समेटेको हाले खगोलविदहरुले पत्ता लगाएका हुन्।
ऋग्वेदको भाषा अति सांकेतिक र रुपकीय प्रकारको रहेकोले यसमा समावेश भएका कुन कथा काल्पनिक र कुन प्रसङ्ग ऐतिहासिक हुन् भनेर खुट्याउन कठिन पर्छ।
स्पेस डटकमले उल्लेख गरे अनुसार भारतको टाटा इन्स्टिच्युट अफ फण्डामेन्टल रिसर्चका मायांक वाहिया तथा जापानको नेशनल एस्ट्रोनोमिकल अब्जरभेटरीका मिस्टुरु सोमा नामका खगोलविदहरुले ऋग्वेदका ऋचाहरुमा खग्रास सूर्यग्रहणसम्बन्धी सबैभन्दा पुरानो प्रसङ्ग पत्ता लगाएको दावी गरेका हुन्।
उनीहरुले आफूले पत्ता लगाएको नयाँ विषयवस्तुका बारेमा जर्नल अफ हिस्ट्री एण्ड हेरिटेजमा आलेख प्रकाशन गरेका छन्।
वेदमा उल्लिखित ऋचाहरु श्रृङ्गारिक भए पनि ग्रहणका लागि भने सुहाउँदा रहेका छन्। यिनीहरुमा सूर्य ‘अँध्यारो र विषादले खोपिएको’ भन्दै वर्णन गरिएको छ भने प्रेतात्माहरुले सूर्यलाई अन्तर्ध्यान हुन वा हराउन सक्ने जादूमय कला दिएको पनि थपेका छन्।
खगोलविदहरुले यी कथाहरुले हाल हिन्दू पौराणिक कथामा भनिए अनुसार सूर्य ग्रहण लाग्नुमा कारक मानिएका राहु र केतुका बारेमा बुझाउन नखोजेको पनि प्रस्ट पारेका छन्। यसबाट उनीहरुले राहु केतुलगायतका कथा बुनिनुअगाडिकै प्रसङ्ग उक्त ऋचाहरुमा रहेका पनि प्रस्ट हुने दावी गरेका छन्।
अगाडिका ऋचाहरुले ती खगोलविदहरुलाई सूर्य ग्रहण कति समय लागेको थियो भन्ने हिसाब किताब गर्न सघाएका थिए। उनीहरुले उक्त ग्रहण वसन्त विषुव कालपुरुषमा रहेका बेला लागेको र पछि शरद विषुवलाग्ने ३ दिन अघि पनि दोहोरिएको पाएका थिए। त्यसबेलाको सूर्यग्रहण खग्रास रहेको र यो ऋग्वेदका रचयिताहरु बसेको ठाउँ आसपास नै लागेको हुनुपर्ने पनि वर्णित रहेको बताइएको छ।
ती खगोलविदहरुले उक्त ऋचाहरुमा वर्णित विषयवस्तुहरु विश्लेषण गर्दा ४२०२ बीसी अक्टोबर २२ तारिख र ३८११ बीसी अक्टोबर १९ तारिखमा सूर्यग्रहण लागेको हुनसक्ने पत्ता लगाएका छन्। यी दुवै मिति हालसम्म लिखितरुपमा सूर्यग्रहणबारे प्रसङ्ग उल्लेख गरिएको पुरानो मितिभन्दा धेरै अगाडि छन्।
केही समयअघि सिरियामा भेटिएको पुरानो माटोको सिलोटका आधारमा त्यसले १३७५ बीसी वा १२२३ बीसीमा ग्रहण लागेको प्रसङ्गलाई सबैभन्दा पुरानो मानिँदै आएको थियो। यसैगरी आयरल्याण्डमा भेटिएको ढुंगामा कुँदिएको जानकारीमार्फत् ३३४० बीसीमा ग्रहण लागेको प्रसङ्ग उल्लेख गरिँदै आएको थियो।
ऋग्वेदका ऋचाहरुमा उल्लेख गरिएको हिसाबले हालै पत्ता लागको उक्त प्रसङ्गमा खग्रास सूर्यग्रहणले कसरी त्यतिबेलाका मानिसहरुलाई प्रभाव पारेको थियो र कसरी पुरातन/ऐतिहासिक लेखोटहरुले हाम्रो अलौकिक घटनाक्रमहरु बारेको वर्तमानको ज्ञानमा प्रामाणिक तरिकाले योगदान गर्न सक्छ भन्ने प्रमाणित गरेको स्पेस डटकममा लेखिएको छ।
प्रकाशित: १९ भाद्र २०८१, बुधबार