
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्ट्याटस फेसबुकले हटाईदिएको छ।
धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफैँले मेयरको पेजको स्ट्याटस हटाईदिएको सचिवालयले जानकारी दिएको छ।
हाल हटेको उक्त स्ट्याटस रिकभर गर्ने प्रयास भइरहेको बताईएको छ।
मेयर शाहले फेसबुक पेजबाट आइतबार नेकपा (एमाले) लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माको फोटो सहित उनले बालशोषण गरेको भन्दै स्ट्याटस राखेका थिए।
‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने ? कि नसमाउने ?,’ उनको स्ट्याट्समा लेखिएको थियो।
मेयर बालेनले सोही स्ट्याटस अर्को सामाजिक संजाल एक्समा पनि राखेका थिए। तर एक्सको उक्त स्ट्याटस भने हटेको छैन्।
यसका साथै उनले सोही विषयमा थप स्ट्याटस पनि सोमबार फेसबुकमा लेखेका थिए। उक्त स्ट्याटस भने हटेको छैन्।
प्रकाशित: १८ भाद्र २०८१, मंगलवार