
काठमाडौं ।
वैज्ञानिकरुले क्वार्ट्ज अर्थात् स्फटिकलाई भूकम्पको झट्काले एक्टिभेट गराउँदा ठूला सुनका टुक्राहरु निर्माण हुन्छन् भन्ने पत्ता लगाएका छन्। यो नतिजाले बर्सौंदेखि अनुसन्धाताले समाधान गर्न नसकेको रहस्य सुल्झाएको विज्ञानसम्बन्धी वेबसाइट लाइभसाइन्सले जनाएको छ।
भूगर्भविदहरुले यसअघि भूकम्पको सहायताले क्वार्ज अर्थात् स्फटिकमा सुन उत्पन्न हुनेबारे सदियौंदेखि थाहा पाएका भए पनि हालको नयाँ तथ्यले भने सुनका ठूला ठूला डल्लाहरु बन्नका लागि भूकम्पका तरङ्ग तथा ती ठाउँको बनावट वा माहोल कसरी संयोजन हुनुपर्छ भन्ने स्पष्ट भएको हो।
.प्राकृतिक रुपमा सुन क्वार्ट्ज अर्थात् स्फटिक भएको क्षेत्रमा बन्ने गर्दछ ।सुन पृथ्वीको सतहमा उपलब्ध फेल्ड्सपारपछिको दोस्रो महँगो पदार्थ हो। तर अन्य प्रकारले जमीनमुनि पाइने सुनका अन्य खानीहरुभन्दा फरक क्वार्ट्जमा पाइएको सुन भने एकै ठाउँमा धेरै परिमाणमा साना साना टुक्राको समूहमा उपलब्ध हुने लाइभसाइन्समा उल्लेख छ।
यी साना साना सुनका आकर्षक टुक्राहरु क्वार्ट्जका फैलिएका भेन अर्थात् नसाको बीच भागमा तैरिएर रहेका हुन्छन्। यी क्वार्ट्ज भेनहरु वास्तवमा क्वार्ट्जले भरिपूर्ण चट्टानमा परेका साना साना चिरा हुन्।
यी चिराहरुमा बेला बखतमा पृथ्वीको क्रस्ट अर्थात् सतहभन्दा धेरै तलबाट हाइड्रोथर्मल फ्लुइड नामको लेदो पदार्थले मुटुले रगत पम्प गरेजस्तै गरी जोडले झट्का दिइरहेका हुन्छन्।

‘सुन सधैं क्वार्ट्ज अर्थात् स्फटिकमै बन्ने गर्दछ’, अस्ट्रेलियको मोनाश विश्वविद्यालयका भूगर्भविद् तथा गत सोमबार प्रकाशित भएको नयाँ तथ्यसहितको अध्ययन प्रतिवेदनका लेखक क्रिस भोइजीले भने। उक्त प्रतिवेदन हालै नेचर जिओसाइन्स नामक जर्नलमा प्रकाशित भएको थियो। ।
‘यसमा सबैभन्दा अनौठो कुरा भनेको सुनका ठूला ठूला आकर्षक आकारका टुक्राहरु निर्माण हुनु हो,’ भोइजीले लाइभसाइन्सलाई बताए, ‘ हामीलाई यसको प्रक्रियाबारे थाहा थिएन-अर्थात् एउटा निश्चित ठाउँमा खनिज तत्वको संयोजनबाट यति धेरै मात्रामा सुन कसरी बन्न सक्छ भन्ने थाहा थिएन।’
यसरी बन्छन् सुनका डल्ला
भोइजीका अनुसार पृथ्वीको भित्री भागबाट आउने हाइड्रोथर्मल फ्लुइड अर्थात् लेदोहरुले सुनका हजारौं कणहरु बोकेर ल्याएका हुन्छन् र तिनीहरुलाई स्फटिकको चट्टानमा रहेका अनगिन्ति चिराहरुबाट सतहमा पठाउँछन्। यो प्रक्रियामा ती लेदोमा रहेका सुनका कणहरु ती स्फटिक भएको क्षेत्रमा सबैतिर बराबर मात्रामा बाँडिन्छन् र तिनीहरुका तह बन्दै जान्छन्।
यी सुनका साना साना डल्लाहरु भूकम्पको झट्काका कारण पृथ्वीको भित्री भागमा रहेको सुनका कणसहितको लेदो बलपूर्वक पृथ्वीको सतहमा आएका कारण बन्ने बताइएको छ।
खानीमा पाइने अधिकांश सुन यही प्रक्रियाबाट बन्ने वैज्ञानिकहरुको भनाई छ। यसबाहेक स्फटिक आफैंमा पनि भूकम्प लगायत भौगर्भिक तनावका क्रममा विद्युतीय चार्ज उत्पन्न गर्ने क्षमता रहेको हुन्छ। यसरी भने थोरै परिमाणमा मात्र सुनका टुक्राहरु बन्दछन्।
प्रकाशित: १८ भाद्र २०८१, मंगलवार