बोइङ स्टारलाइनर यानबाट एकोहोरो र अनौठो आवाज आइरहेको छ- अन्तरिक्षयात्री विल्मोर

  • Technology Khabar | १७ भाद्र २०८१, सोमबार
बोइङ स्टारलाइनर यानबाट एकोहोरो र अनौठो आवाज आइरहेको छ- अन्तरिक्षयात्री विल्मोर

काठमाडौं ।

अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा फसेका दुईमध्ये एक अमेरिकी अन्तरिक्षयात्री ब्यारी विल्मोरले शनिबार बोइङ स्टारलाइनरबाट अनौठो आवाज आएको भन्दै नासालाई जानकारी गराएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था द भर्जका अनुसार सुनिता विलियम्ससँगै अन्तरिक्षमा फसेका विल्मोरले शनिबार नासाको पृथ्वीमा रहेको कार्यालयसँग सम्पर्क गर्दै  यानबाट एकोहोरो आवाज आएको जानकारी गराएको नासा स्पेस फ्लाइटका एक फोरम मेम्बरले बताए।

आर्स टेक्निकाले देखेको एक पोस्टमा ती फोरम मेम्बरले नासा र अन्तरिक्षयात्री विल्मोरबीचको कुराकानीको रेकर्डिङ नै राखेका बताइएको छ।

उक्त रेकर्डिङमा विल्मोरले नासाका सदस्यलाई ह्युस्टनमा सम्पर्क गरेर आफ्नो कल कन्फिगर गर्न आग्रह गर्दै त्यसो गरेको खण्डमा आफूले उक्त आवाज सुनाउने पनि बताएका छन्। उक्त आवाज बोइङ स्टारलाइनरभित्रको स्पीकरबाट आएको उनले बताएका छन्।

त्यसपछि एउटा लगातारको भाँडाकुँडा बजेको जस्तो एकोहोरो आवाजको साथमा मसिनो ‘पंखा/ पँखेटामा केही छ’ भन्ने आवाज सुन्न सकिने समाचारमा उल्लेख छ।

नासाको पृथ्वीमा रहेका सदस्यहरुले यसरी आइरहेको आवाज समुद्रमा आएको आवाजको प्रतिध्वनि सुनेर विश्लेषण गर्नका लागि प्रयोग गरिने सोनर नामक उपकरणबाट निस्कने पिङ भनेर चिनिने आवाजजस्तै रहेको बताएका छन्।

उक्त रहस्यमय आवाज निकै उराठलाग्दो रहेको एक रेडिट प्रयोगकर्ताले आफ्नो एक्स एकाउन्टमा लेखे। ती व्यक्तिले नासाका सदस्य वा विल्मोरसँग कुराकानी नगरे पनि उक्त आवाज रेजिडेन्ट इभल ४ को डरलाग्दो ग्यानाडो थिमको संगीतजस्तै सुनिएको हो कि झैं गरी चिन्तित देखिएका छन्।

द भर्जले प्रकाशन गरेको समाचारमा बोइङ स्टारलाइनर आगामी सेप्टेम्बर ६ तारिख अर्थात् आउने शुक्रबार अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट रित्तै र स्वचालित रुपमा पृथ्वीमा फर्कने तालिका रहेको छ।

प्रकाशित: १७ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार