Technology Khabar १४ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले परिक्षण गरिरहेको पहिलो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्।
विश्वविद्यालयको २९ औं दीक्षान्त अघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए।

दक्षिण कोरियाली ब्रान्ड हुन्डाईको नेक्सो हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो।
केयुले नेपाल भित्र्याएको हाइड्रोजन कारमा ९५ किलोवाट क्षमताको फ्यूल सेल छ। कारमा रहेको इलेक्ट्रिक मोटरले १२० किलोवाट (१६१ हर्सपावर) र ३९५ एनएम टर्क प्रदान गर्छ। हाइड्रोजन ट्यांक फूल भएको अवस्थामा कारले ६११ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।
विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि उक्त गाडी नेपाल भित्र्याएको हो। ल्याबमा पाँच जना विद्यावारिधिसहित २२ जना अनुसन्धानकर्ताले काम गर्दै आएका छन्।
प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार