भियतनाममा ठूलो डाटा सेन्टर निर्माण गर्नेबारे विचार गर्दै गुगल

  • Technology Khabar | १४ भाद्र २०८१, शुक्रबार
भियतनाममा ठूलो डाटा सेन्टर निर्माण गर्नेबारे विचार गर्दै गुगल

काठमाडौं ।

अमेरिकी टेक जायन्ट गुगलले भियतनाममा ठूलो डाटा सेन्टर निर्माणबारे विचार गरिरहेको छ। यसो भएको खण्डमा दक्षिणपूर्वी एशियाली राष्ट्रमा कुनै पनि ठूलो अमेरिकी प्रविधि कम्पनीद्वारा गरिएको यो पहिलो लगानी हुने सम्भावना छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरे अनुसार अल्फाबेट अन्तर्गतको कम्पनी गुगलले भियतनामको दक्षिणी आर्थिक केन्द्र हो ची मिन्ह सिटी नजिकै “हाइपरस्केल” डाटा सेन्टर निर्माण गर्ने योजना बनाउँदैछ। यो जानकारी सार्वजनिक नभएको कारण स्रोतले आफ्नो नाम खुलाउन नमानेको समाचारमा उल्लेख छ।

यदि यो लगानी अघि बढेको खण्डमा यो अहिलेसम्म डाटा सेन्टरहरूमा ठूलो विदेशी पूँजी आकर्षित गर्न नसकेको भियतनामको लागि ठूलो प्रोत्साहन हुनेछ।

यसो हुनुमा त्यहाँको अव्यवस्थित पूर्वाधारको कारणलाई लिइन्छ जसले गर्दा ठूला प्रविधि कम्पनीहरूले आफ्नो डाटा सेन्टरहरूलाई क्षेत्रका अन्य प्रतिस्पर्धी राष्ट्रहरूमा राख्न रुचाएका छन्।

गुगलले कत्तिको छिटो यो लगानीमा निर्णय लिनेछ भन्ने कुरा स्पष्ट छैन तर स्रोतले बताएअनुसार आन्तरिक छलफलहरू भइरहेका छन् र यो डाटा सेन्टर २०२७ सम्म तयार हुनसक्छ। गुगलका प्रवक्ताले भने यो योजनाबारे टिप्पणी गर्न अस्वीकार गरे।

हाइपरस्केल सेन्टरहरू उद्योगमा सबैभन्दा ठूलो हुने गर्दछन् जसको विद्युत् खपत ठूला सहरको बराबर हुन्छ। ५० मेगावाट विद्युत् खपत क्षमता भएको हाइपरस्केल डाटा सेन्टरको लागत ३०० मिलियन डलरदेखि ६५० मिलियन डलरसम्म पर्न सक्छ।

यसको अनुमान यस वर्ष रियल एस्टेट कन्सल्टेन्ट जोन्स लाङ लासेलले भियतनामका डाटा सेन्टरहरू बारे प्रकाशित गरेको प्रतिवेदनमा आधारित रहेको बताइएको छ।

गुगलको यो कदम भियतनाममा रहेका धेरै घरेलु र विदेशी क्लाउड सेवा ग्राहकहरू र देशको विस्तार भइरहने डिजिटल अर्थतन्त्रले प्रेरित भएको बताइएको छ।

स्रोतले दक्षिणपूर्वी एशियाली राष्ट्रलाई युट्युब, गुगलको लोकप्रिय अनलाइन भिडियो साझेदारी प्लेटफर्मको लागि सबैभन्दा छिटो विकास हुने बजारहरूमध्ये एक भनेर उल्लेख गरेको छ।

हाल भियतनाममा डाटा सेन्टर सञ्चालकहरू मध्ये आईडीसी बेकामेक्स र दूरसञ्चार कम्पनी भीएनपीटी प्रमुख छन्। यी दुवै भियतनामी राज्यको स्वामित्वमा रहेका उद्यमहरू हुन्।

समाचारका अनुसार गत मे महिनामा चिनियाँ ई-कमर्स कम्पनी अलिबाबा भियतनाममा डाटा सेन्टर निर्माण गर्ने योजना बनाउँदै गरेको निक्केईले रिपोर्ट गरेको थियो। अलिबाबाले भने यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रूसद्वारा ५२ स्याटेलाइटको सफल प्रक्षेपण

  • Technology Khabar
  • १४ भाद्र २०८१, शुक्रबार