एनसेललाई नवीकरण दस्तुर किस्तामा बुझाउन दिने सरकारको निर्णय

Technology Khabar १३ भाद्र २०८१, बिहीबार

काठमाडौं ।

सरकारले एनसेल आजियाटा लिमिटेडलाई किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुबिधा दिएको छ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले निजी दूरसञ्चार सेवा प्रदायक एनसेललाई चार किस्तामा तिर्ने सुबिधा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

यसका साथमा कम्पनीले अब आफ्नो जीएसएम मोबाइल सेवाको २० अर्ब नवीकरण दस्तुर किस्तामा तिर्न पाउने भएको छ।

कम्पनीले यसअघिनै नवीकरण दस्तुरका लागि भनेर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई ४ अर्ब बुझाईसकेको छ। अब बाँकी १६ अर्ब रुपैयाँ तीन किस्तामा भुक्तानी गर्नुपर्नेछ।

यस बाहेक कम्पनीले उक्त रकममा थप १० प्रतिशत रकम समेत सरकारलाई तिर्नुपर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।

“पहिलो किस्ताको रकम तिरिसकेको हुँदा ब्याज लागेन अब बाँकी रकममा लाग्नेछ र यसको लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ,” उनले भने।

एनसेलको नवीकरण अवधि यहि भदौ १५ गतेसम्म रहेको छ।

किस्तामा तिर्ने सुबिधा पाउँदा एनसेलले असारमा तिरेको ४ अर्ब रुपैयाँलाई पहिलो किस्ता रकम मानिनेछ।

प्रकाशित: १३ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया