Technology Khabar १३ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
लुम्बिनी प्रदेशले प्रादेशिक जानकारीहरु र तथ्यांकसहितको लुम्बिनी डाटा पोर्टल सार्वजनिक गरेको छ।
प्रदेश योजना आयोगको आयोजनामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको लुम्बिनी डाटा पोर्टल सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक, सामाजिक, भौतिकलगायत सबै क्षेत्रका तथ्याङ्कलाई यथार्थपरक बनाउनुपर्ने बताएका छन्।
प्रदेशका मुख्यमन्त्री आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताएका छन्। प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउँदा वास्तविकता पत्ता लगाउन सकिने उनको भनाइ छ।
“डाटा पोर्टल बन्नु महत्वपूर्ण उपलब्धि हो । यसलाई सबै निकायले प्रयोग गर्न मिल्ने बनाउनु पर्छ,” मुख्यमन्त्री आचार्यले भने, “हरेक कामको मूल्याङ्कन तथ्याङ्कको आधारमा गर्नुपर्छ। यसमा सबैले ध्यान दिनुपर्ने छ।”
लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक, पूर्वाधारलगायत सबै विषय र पक्षका तथ्याङ्कलाई एकीकृत गरेर एकै ठाउँमा तथ्याङ्क राखिएको छ। विगतमा तथ्याङ्क खोज्न र प्रयोग गर्न समस्या थियो तर अबदेखि प्रदेशसँग सम्बन्धित सबै तथ्याङ्क डाटा पोर्टलमा राखिएको र त्यहाँ रहेका तथ्याङ्क प्रयोग गर्न सकिने अवस्था रहेको प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले बताए।
लुम्बिनी प्रदेशको समष्टिगत स्थिति समेटिएको छ। एकीकृत रूपमा विवरण राखिएकाले यसको उपयोगिता बढेर गएको भनाइ सचिव कुँवरको छ।
यो पोर्टलमा प्रदेश सरकारका विषयगत मन्त्रालयले तयार पारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरणलगायत सबै क्षेत्रका तथ्याङ्कलाई एकीकृत गरिएको छ। यसका साथै स्वतन्त्र अनुसन्धानकर्ताले तयार पारेका तथ्याङ्कलाई समेत समेटिएको छ।
प्रकाशित: १३ भाद्र २०८१, बिहीबार