Technology Khabar १३ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
अमेरिकी वाणिज्य विभागले मंगलबार एचपीलाई ओरेगनमा रहेको कम्पनीमा सुविधाको विस्तार र आधुनिकीकरणलाई सघाउन ५ करोड डलर दिने घोषणा गरेको छ। यो कम्पनीमा विशेषगरी सेमिकण्डक्टर प्रविधिहरूको अनुसन्धान र उत्पादन हुने रोयटर्सले जनाएको छ।
प्रस्तावित अनुदानले जीवन विज्ञान उपकरण र कृत्रिम बौद्धिकताका एआई एप्लिकेशनहरू र अन्य परियोजनाहरूमा प्रयोग हुने प्रविधि हार्डवेयरलाई समर्थन गर्ने विभागले बताएको छ।
२०२२ को अगस्टमा अमेरिकी कांग्रेसले अमेरिकी सेमिकण्डक्टर निर्माण र सम्बन्धित घटकहरूको लागि ३९ अर्बको सब्सिडी कार्यक्रम, ७५ अर्बको सरकारी ऋण अधिकार र २४ अर्बको अनुमानित २५% लगानी कर क्रेडिट अनुमोदन गरेको थियो।
यी परियोजनाहरू औषधि पत्ता लगाउन, एकलकोशिका अनुसन्धान, र सेल लाइन विकासमा प्रयोग हुने जीवन विज्ञान प्रयोगशाला उपकरणहरूमा महत्त्वपूर्ण सिलिकन उपकरणहरूको निर्माणलाई सघाउन पुँजी प्राप्त गरेर माइक्रोफ्लुइडिक्स र माइक्रोइलेक्ट्रोमेकेनिकल प्रणालीहरूमा एचपीको विशेषज्ञतामा आधारित छन्।
वाणिज्य सचिव जीना रायमन्डोले ओरेगनको कोरभालिसमा रहेको एचपी क्याम्पसको लागि प्रस्ताव गरिएको ५ करोड डलर अनुदानले “हामीले सेमिकण्डक्टर आपूर्ति श्रृंखलाको प्रत्येक भागमा कसरी लगानी गरिरहेका छौं र औषधि पत्ता लगाउन र जीवन विज्ञानको महत्वपूर्ण उपकरणमा सेमिकण्डक्टर प्रविधिको महत्त्व कस्तो छ भन्ने देखाउँछ”, भन्ने विचार व्यक्त गरेकी छिन्।
उक्त प्रविधिले हार्भर्ड मेडिकल स्कूल, यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन, र मर्क जस्ता साझेदार संस्थाहरूलाई बढावा दिने विभागको भनाई छ।
एचपीका सीईओ एनरिक लोरसले यो अनुदानले एचपीलाई आफ्नो माइक्रोफ्लुइडिक्स प्रविधिमा थप लगानी गर्न आफ्ना सुविधालाई आधुनिकीकरण र विस्तार गर्ने अवसर प्रदान गर्ने धारण व्यक्त गरे।
विभागले १७ वटा कम्पनीहरूलाई ३२ अर्बभन्दा बढी अनुदान र २९ अर्बसम्म ऋण प्रस्ताव गर्ने शर्तहरूको घोषणा गरेको छ। यसले दक्षिण कोरियाको सामसङलाई टेक्सासमा चिप उत्पादन विस्तार गर्न ६.४ अर्बको अन्य प्रमुख योजनाबद्ध सहायताको घोषणा गरेको छ।
प्रकाशित: १३ भाद्र २०८१, बिहीबार