Technology Khabar १३ भाद्र २०८१, बिहीबार
काठमाडौं ।
अमेरिकी टेक जायन्ट एप्पलले भारतको एयरटेलसँग सहकार्य गरी एयरटेलका प्रिमियम ग्राहकलाई यसको संगीत र भिडियो स्ट्रिमिङ सेवाहरू निःशुल्क उपलब्ध गराउने भएको छ। जसले अमेरिकी कम्पनीलाई मूल्य संवेदनशील बजारमा हजारौं उपभोक्तासम्म पुग्ने अवसर प्रदान गर्न सक्छ।
एप्पलको यो कदम भारतको २८ अर्ब डलरको मनोरञ्जन बजारमा प्रतिस्पर्धा कडा भइरहेको समयमा आएको हो। यसैबीच रिलायन्स र वाल्ट डिज्नीको भारतीय मिडिया सम्पत्तिहरूको साढे ८ अर्बको मर्जरमाथि पनि नियामकहरूले कडा निगरानीमा राखेका छन्।
एयरटेलले मंगलबार एक विज्ञप्तिमा भनेको छ, “एप्पल टीभी+ एयरटेलको प्रिमियम वाइफाइ र पोस्टपेड योजनासँग जोडिने छ,” यद्यपि कम्पनीहरूले साझेदारीको सम्झौताका मूल्य वा लागत सम्बन्धी कुनै जानकारी खुलाएका छैनन्।
प्राय: अंग्रेजी भाषाको सामग्री हुने भएकाले भारतीय बजारमा एप्पल टीभी+ सानो खेलाडी हो जहाँ यसको प्रतिस्पर्धीहरूमा नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नी+ हटस्टार र अर्बपति मुकेश अम्बानीको जियोसिनेमा सामेल छन्।
एप्पलले आफ्नो दर्शक संख्या छिटो वृद्धि गर्न स्ट्रिमिङ सेवाहरूलाई टेलिकम योजनासँग बन्डल गर्ने प्रतिस्पर्धीहरूको पछि लागिरहेको बुझिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एयरटेलको ब्रोडब्यान्ड र पोस्टपेड सेवाका प्रिमियम प्रयोगकर्ताहरूले यस वर्षको अन्त्यतिर आफ्नो योजनाको हिस्साको रूपमा एप्पल टीभी+ र एप्पल म्युजिक प्राप्त गर्न सक्नेछन्।
यस मामिलाको सिधा जानकारी भएका दुई स्रोतहरूले नाम नखुलाउने शर्तमा बताए अनुसार यो प्रक्रियामा एयरटेलले आफ्नो संगीत एप विङ्क बन्द गर्नेछ।
एयरटेलका भारतमा करिब २८ करोड १० लाख ग्राहक छन् भने यसको प्रमुख प्रतिस्पर्धी अम्बानीको रिलायन्स जियोसँग करिब ४८ करोड ९० लाख ग्राहक रहेका छन्।
प्रकाशित: १३ भाद्र २०८१, बिहीबार