Technology Khabar १२ भाद्र २०८१, बुधबार
काठमाडौं ।
अर्बपति इलन मस्कको सामाजिक सञ्जाल एक्सले आफ्नो एआई च्याटबट परिवर्तन गरेको छ। यो परिवर्तन राज्यका ५ जना सेक्रेटरीहरुले उक्त च्याटबटले निर्वाचनसम्बन्धी भ्रामक जानकारी फैलाएको भन्दै चेतवानी दिएपछि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्युजले जनाएको छ।
अमेरिकाको मिचिगन, मिनेसोटा, न्यु मेक्सिको, पेन्सल्भानिया र वाशिङ्टनका मुख्य निर्वाचन अधिकारीहरुले यसै महिना इलन मस्कलाई उनको ग्रोक नामक एआई च्याटबटले जो बाइडेनले यसपालाको निर्वाचनबाट नाम निकालेपछि राज्यका उम्मेदवारीको समयसीमाबारे भ्रामक जानकारी दिएको भन्दैं पत्र पठाएका थिए।
ती राज्य सेक्रेटरीहरुले उक्त च्याटबटले निर्वाचन सम्बन्धी प्रश्न सोध्ने प्रयोगकर्तालाई मिथ्या जानकारी दिनुको साटो बरु राज्य सेक्रेटरीहरुको राष्ट्रिय संस्थाले चलाएको क्यानआईभोट डट ओआरजीमा रिडाइरेक्ट हुने व्यवस्था गर्न आग्रह गरेका छन्।
निर्वाचनसम्बन्धी प्रश्नको सूची बनाउनुअघि हाल उक्त च्याटबटले भन्छ, ‘२०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको अद्यावधिक जानकारीका लागि कृपया भोट डट जीओभीमा जानुहोस्।’
पाँचवटै राज्यका सेक्रेटरीहरुले विज्ञप्तिमा भनेका छन्, ‘यी दुवै वेबसाइटहरु भरपर्दा स्रोतहरु हुन् जसले मतदातालाई उनीहरुका स्थानीय निर्वाचन अधिकारीहरुसँग जोड्न मद्दत गर्छ।
‘हामी आफ्नो प्लेटफर्म सुधार गर्ने एक्सको यो कदमको सराहना गर्दछौं र उनीहरुले यो गम्भीर निर्वाचन वर्षमा आफ्ना प्रयोगकर्ताले सही जानकारी सही स्रोतबाट पाउन् भन्ने पक्का गर्नका लागि आवश्यक सुधारहरु गर्दै जानेछन् भन्ने आशा गर्दछौं’, उनीहरुले भने।
प्रकाशित: १२ भाद्र २०८१, बुधबार