सीजी मोटर्सद्वारा नाडा अटो शोमा ४ नयाँ ब्राण्ड सार्वजनिक

Technology Khabar ११ भाद्र २०८१, मंगलवार

काठमाडौं ।

नाडा अटो शो २०८१ लाई लक्षित गरि सी.जी. मोटर्सले नेपाली बजारमा ४ ओटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ।

नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सी.जी. मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो। नाडा अटो शो शुभारम्भ भएसँगै नेपालको अर्थ मन्त्री विष्णु पौडेलद्वारा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो।

कम्पनीले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपेङ्ग, रिडडारा र हिरो गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो। यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सी.जी. मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ।

यसपालीको नाडा अटो शो मा नीटा, एक्सपेङ्ग, अवतार, आयोन, रिडारा, सीजी केवाईसी, किङ्ग लङ्ग र हिरो गरी सी.जी. मोटर्सका ८ वटा स्टल रहेका छन्।

सी.जी. मोटर्सले नाडा अटो शो मार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ। अवतारको अवतार ११ मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो। अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चाङ्गन, टेक्नोलोजीमा अग्रणी कम्पनी ह्वावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो।

अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एस.यु.भि. हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। अवतार ११ मा १९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट आवर र ११६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ।

नाडा अटो शो मा रहेको एक्सपेङ्ग, सी.जी. मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो। एक्सपेङ्ग जी६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ। १९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ्ग जी६ ले २१५ किलोवाट सम्मको डिसी फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ।

त्यसैगरी नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो रिडारा। रिडाराले नेपाली बजारमा रिडारा आरडी ६ सार्वजनिक गरेको हो। ६३ किलोवाट आवरको ब्याट्री र २०० किलोवाटको पिक मोटर पावर रहेको रिडारा आरडी ६ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ।

नीटाले नयाँ मोडल, नीटा एक्स नाडा मार्फत सार्वजनिक गरेको छ। नीटा एक्स स्टल नम्बर ए३ मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट नीटा एक्सको अनुभव लिन सक्नेछन्। कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्ज सहित नीटा एक्समा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ। सीएटीएलको ब्याट्री जडित नीटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ।

त्यसैगरी आयोनले नाडा लाई लक्षित गरी आयोन वाई, आयोन भी, हाइपर र हाइपर एचटी प्रदर्शनमा रहेको छ।

यससँगै सी.जी. मोटर्सको प्यासेन्जर सेगमेन्टमा इलेक्ट्रिक भ्यान, सीजी केवाईसी प्रदर्शन गरिएको छ। नाडा अटो शो मार्फत सीजी केवाईसीले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै सीजी केवाईसीको ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरुलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ। सीजी केवाईसीले एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने डुअल एरब्याग, ए.बि.एस. जस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरु समावेश गरिएको छ।

यसैगरी लामो रुटको यात्राको लागि लक्जरीयस र कम्फर्टेवल यात्राको समाधान स्वरुप सी.जी. मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ।

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया