यसरी गर्नुस् ड्रोनको सुरक्षित प्रयोग, ड्रोन मर्मत गर्दै आएका तिमिल्सिनाको सुझाव यस्तो छ

Technology Khabar ११ भाद्र २०८१, मंगलवार

यसरी गर्नुस् ड्रोनको सुरक्षित प्रयोग, ड्रोन मर्मत गर्दै आएका तिमिल्सिनाको सुझाव यस्तो छ
सांकेतिक तस्विर

काठमाडौं ।

ड्रोन मर्मत केन्द्र खोलेर देशभित्रै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका भक्तपुरका राजकुमार तिमिल्सिनाले ड्रोनको प्रयोगको बारेमा सुझाब दिएका छन्।

अनामनगरमा ड्रोन मर्मत केन्द्र खोलेर देशभरका ड्रोन मर्मत गर्दै आएका उनले सुरक्षित प्रयोगमा जोड दिँदै ड्रोन प्रयोगकर्तालाई सुझाब दिएका छन्।

फोटोग्राफी वा भिडियोग्राफीका लागि ड्रोनको प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा त्यसको सुरक्षित प्रयोग गर्नु उत्तिकै जरुरी छ।

तिमिल्सिनाका अनुसार आकर्षक भिडियो तथा फोटोका लागि ड्रोन उडाउने गरिन्छ। सरकारसँग अनुमति लिएर नियम पालना गर्दै ड्रोन उडाउनुपर्ने उनको सुझाव छ। “जथाभावी अनुमति नै नलिई हतारमा लुकेर ड्रोन उडाउँदै नउडाउनुस्। यससँगै ड्रोन सुरक्षित राख्न पनि केही कुरा ख्याल गर्न जरुरी छ”, उनले भने।

उनले ड्रोनको सुरक्षित प्रयोग कसरी गर्ने भन्ने बारेमा आफ्ना केही सुझाव दिएका छन। बजारमा विभिन्न ब्रान्डका ड्रोन पाइन्छन् । निर्माता कम्पनीले उपलब्ध गराएको म्यानुअल पढेर मात्रै ड्रोन चलाउन थाल्नु पर्छ। यसमा ड्रोनको मोडल र यसलाई चलाउने तरिकाबारे धेरै कुरा उल्लेख गरिएको हुन्छ।

यस्तै प्रि–फ्लाइट हरेक फ्लाइटअघि परीक्षण गर्नुस् । कुनै क्षति, नटबोल्ट लुज भएको, कुनै पार्टस् नचलेकोलगायत समस्या पहिल्यै थाहा हुन्छ । कहिल्यै पनि ब्याट्री ओभर चार्ज गर्नुहुन्न । यस्तै चार्ज अफ हुने गरी पनि राख्नुहुन्न । कम्पनीले दिएको निर्देशनअनुसार भोल्टेज लेभल मिलाएर राख्नुपर्छ।

ड्रोनलाई फोहोर र धुलोबाट जोगाउनुपर्छ। मोटर्स, प्रोपेलर्स वा अन्य ठाउँमा भएका धुलो र फोहोरलाई हटाउन नरम ब्रसको प्रयोग गर्न सकिन्छ । तर, इलेक्ट्रोनिक्स पार्टस् नबिग्रियोस् भन्नेमा सतर्क रहनुपर्छ। तपाईंको ड्रोनमा गिम्बल छ भने यसलाई होसियारीपूर्वक चलाउनुपर्छ। गिम्बल र क्यामेरा लेन्सलाई माइक्रोफाइबर कपडाले नियमित सफा गर्नुपर्छ। ता कि फुटेज क्लियर आओस्।

डोनलाई सिधा घामको प्रकाश पर्ने ठाउँमा राख्नु हुँदैन्। यसलाई फोहोर धुलोबाट जोगाउन सुरक्षित केस वा ब्यागमा राख्नुपर्छ। ता कि एक ठाउँबाट अर्को ठाउँमा लग्दा पनि कुनै फरक नपरोस् । ड्रोनको सेन्सर, कम्पास, आइएमयू (इनर्सियल मेजरमेन्ट युनिट) लाई कम्पनीले दिएको सिफारिसअनुसार मिलाउने गर्नुपर्छ । यसो हुँदा उडान राम्रो हुन्छ ।

कस्तो वातावरणमा ड्रोन उठाउने भन्ने पनि ख्याल गर्न जरुरी छ। तीव्र हावा चलेको, हिउँ परिरहेको, पानी परिरहेको, झरना आसपास ड्रोन उठाउँदा बिग्रने जोखिम रहन्छ। निषेधित क्षेत्रमा ड्रोन उडाउँदा सिज पनि हुन सक्छ।

हरेक उडानपछि ड्रोनको अवस्था जाँच गर्नुपर्छ । कुनै समस्या देखिए वेलैमा मर्मत गर्नुपर्ने हुन्छ । यदि कुनै प्राविधिक समस्या देखिएमा, त्यस समस्याका विषयमा थाहा नभएमा प्राविधिक वा विज्ञसँग परामर्श, मर्मत केन्द्रमा मर्मत गर्नुपर्ने हुन्छ।

तिमिल्सिनालाई इजरायल, अमेरिका र भारतबाट ड्रोन मर्मतका लागि बोलावट आएको र उतै बस्ने प्रस्ताव पनि आएको थियो। तर देशभित्रै दक्ष जनशक्ति तयार गर्ने र थप अवसर सिर्जना गरी देशभित्रै बस्ने मनसायका साथ जस्तोसुकै प्रस्ताव आएपनि स्वीकार नगर्ने उनले बताए।

पाँच सय बढी ड्रोन उडानका लागि दर्ता

नेपालमा हालसम्म पाँच सय बढी ड्रोन उडानका लागि दर्ता भएका छन् । सरकारी, निजी तथा व्यक्तिगत रूपमा नेपालमा ल्याइएका मध्ये ती सङ्ख्यामा ड्रोन दर्ता भएको नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । पाँच सय ड्रोन दर्ता भएकामा एक सय ओटा त सरकारी कार्यालयले ड्रोन दर्ता गराएका छन्।

दर्ता भएपछि प्राधिकरणले एउटा युनिक आइडेन्टिफिकिशेन नम्बर’ उपलब्ध गराउने गरेको छ। देशभित्रै खरिद गरेको भए मूल्य अभिवृद्धि कर (भ्याट) बिल र विदेशबाट ल्याएको भए भन्सारसहितको बिल पेस गर्नुपर्ने व्यवस्था छ। दर्ता भइसकेपछि प्राधिकरणले उपलब्ध गराएको ‘ युनिक आइडेन्टिफिकिशेन नम्बर’ ड्रोनमा सुरक्षितसाथ टाँस्नुपर्छ।

कूल २५० ग्राम वा सोभन्दा कम तौल भएका ड्रोन दुई सय फिटसम्म उडान गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ। दुई सय ५० भन्दा बढी तौल भएमा गृह मन्त्रालयसँग अनुमति लिनुपर्छ। सुरक्षा निकायले ड्रोन उडान गर्दा सम्बन्धित मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ। २५ केजीभन्दा बढी तौलको ड्रोन उडान गर्दा तेस्रो पक्ष बीमा अनिवार्य छ।

विमानस्थलभित्रको पाँच किलोमिटर वरिपरि ड्रोन उडान गर्न पाइँदैन । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको पाँच किलोमिटर भित्रमा पनि उडान गर्न पाइँदैन। पर्यावरणीय र जैविक महत्वको दृष्टिले संरक्षित क्षेत्र, आरक्ष तथा खनिज क्षेत्रका स्थानमा ड्रोन उडान गर्न पाइँदैन ।

सुरक्षा कारबाही भइरहेको दङ्गाग्रस्त क्षेत्र, सङ्घीय, प्रदेश र स्थानीय सरकारले समय–समयमा सूचनामार्फत जानकारी गराइएको क्षेत्रमा उडान गर्न मिल्दैन। सैनिक वा सुरक्षा निकायको मुख्यालय, तालिम केन्द्र अवस्थित क्षेत्रको एक हजार मिटर र अन्य सुरक्षा एकाइ रहेको पाँच सय मिटरको आसपासमा उडान गर्न पाइँदैन।

काठमाडौँ उपत्यकाभित्र माइतीघर मण्डला, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, बुढानिलकण्ठ, दरबार स्क्वायर क्षेत्र (काठमाडौँ, भक्तपुर र ललितपुर) लगायतका धार्मिक तथा सम्पदा क्षेत्रमा उडान गर्न पाइँदैन। सिंहदरबार क्षेत्र, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय वा विशिष्ट पदाधिकारीको कार्यालय वा निवास वरपरको एक हजार मिटर वरपर उडान गर्न पाइँदैन । उपत्यका बाहिर स्थानीय प्रशासन वा अधिकार प्राप्त निकायले निर्धारण गरे अनुसारका धार्मिक, पुरातात्विक ऐतिहासिक वा नियन्त्रित घोषणा गरिएका क्षेत्रमा उडान गर्न पाइँदैन।

खासगरी, पछिल्ला दिनमा कृषि क्षेत्रमा ड्रोनको प्रयोग हुन थालेको छ। सगरमाथा खुम्बु क्षेत्रमा फोहोर संकलनका लागि चिनियाँ ड्रोन निर्माता डीजेआई (दा जियांग चुआंगसिन) ले खुम्बु पासाङल्हामु गाउँपालिकासँग सहकार्य गरी सफलतापूर्वक परीक्षण गरिसकेको जनाएको छ।

सो कम्पनीले सगरमाथाको नेपाल तर्फको आधार शिविरबाट ड्रोनको परीक्षण उडान गरेको जानकारी दिएको छ। योसँगै उच्च उचाइमा पर्वतारोहण, आपतकालीन उद्धार र पर्यावरण संरक्षणमा सहजीकरण गर्ने बाटो खुलेको छ । यसबाट पनि ड्रोनको प्रयोगमा बढोत्तरी हुँदै गएको सहजै अनुमान गर्न सकिन्छ । सुरक्षित उडानका अलावा यसको संवेदनशिलतालाई ख्याल गरेर अगाडि बढ्नु नै आजको उत्तम विकल्प हो। रासस

प्रकाशित: ११ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया