मालपोत र नापी कार्यालयका अभिलेख सूचना प्रविधिमा आधारित बनाइने

Technology Khabar १० भाद्र २०८१, सोमबार

मालपोत र नापी कार्यालयका अभिलेख सूचना प्रविधिमा आधारित बनाइने
काठमाडौँ, ९ भदौ ः संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत आइतबार सिंहदबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्राथमिकताको क्षेत्रका बारेमा छलफल गर्दै। तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत एवं नापी कार्यालयका अभिलेखलाई चुस्तदुरुस्त र वैज्ञानिक बनाउने भएको छ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा मन्त्रालय अन्तर्गतका मालपोत र नापी कार्यालयका अभिलेखलाई सूचना प्रविधिमा आधारित भएर एकभन्दा बढी स्थानमा अभिलेख भण्डारण गरी सुरक्षित गर्न लागिएको जानकारी गराइएको हो ।

बैठकमा मन्त्री बलराम अधिकारीले महत्वपूर्ण अभिलेख संरक्षणलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी गराए।

देशभर रहेका १३२ मालपोत र नापी कार्यालयका लागि जनशक्तिको कमी भएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ४१ जना कर्मचारी माग गरिएको जानकारी पनि बैठकमा गराइएको थियो ।

बैठकमा समिति सभापति कुसुमदेवी थापाले मालपोत र नापीका अभिलेखका बारेमा धेरै गुनासो आउने गरेकाले यसको संरक्षण गर्न आवश्यक काम गर्न मन्त्रालयलाई निर्देशन दिएकी थिईन्।

सांसद बीरबहादुर बलायरले मालपोत र नापी कार्यालयका बारेमा आइरहने गुनासो कम गरिनुपर्नेमा जोड दिनुभएको थियो । मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले देशभरका अधिकांश मालपोत र नापी कार्यालय भाडाका घरमा सञ्चालन गर्नुपर्ने भएकाले अभिलेख संरक्षणलगायत काममा समस्या हुने गरेको स्वीकार गरेका थिए। रासस

प्रकाशित: १० भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया