Technology Khabar १० भाद्र २०८१, सोमबार
काठमाडौं ।
सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने मेसिन बिग्रिएपछि छपाइ कार्य बन्द भएको छ। जर्मनीबाट छ लाख प्रति कार्ड ल्याएर असारदेखि तीन सिफ्टमा छपाइ सुरु गरेको यातायात व्यवस्था विभागले छपाइ बन्द भएको १० दिन बितिसक्दा पनि सुचारु गर्न सकेको छैन।
मेसिनले कार्ड चिन्न नसक्ने ‘पर्सनलाइजेसन’ प्रणालीमा समस्या भएपछि छपाइ बन्द भएको हो। गत जेठमा पनि पर्सनलाइजेसनमा समस्या भएपछि छपाइ बन्द भएको थियो।
विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “सुरुमा तीन लाख प्रति छपाइ भएपछि अहिले पर्सनलाइजेसनमा भएको प्राविधिक समस्याका कारण छपाइ बन्द छ।” विभागले जर्मनीबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रेसबाट छपाइ मेसिन ल्याएको थियो। मेसिनले कार्ड रिड (चिन्न) नसक्ने समस्या पटक पटक दोहोरिएको छ।
उनले भने, “समस्याबारे मद्रास सेक्युरिटी प्रेसले हेरिरहेको छ। प्राविधिक कुरा हो, यति दिनमै बन्छ भन्ने कुरा भन्न सकिन्न।” नियमित छपाइ बन्द भए पनि विभागले अत्यावश्यक लाइसेन्स छपाइ भने गरिरहेको छ। नयाँ कार्ड मेसिनले चिन्न नसकेपछि पुराना मौजुदा कार्डबाट अत्यावश्यक छपाइ भइरहेको प्रवक्ता पनेरूले बताए।
जेठदेखि हालसम्म करिब तीन लाख प्रति लाइसेन्स छपिएका छन्। महिनामा एक लाख ५० हजार प्रति लाइसेन्स छाप्ने योजना थियो तर मेसिन बिग्रिएपछि योजना अलपत्र छ। दैनिक माग र छपाइ सङ्ख्या बराबरजस्तो भएकाले व्यवस्थापनमा समस्या हुँदै आएको छ।
मेसिन पटक पटक बिग्रँदा झन् समस्या भएको विभागले जनाएको छ। पुरानो मेसिनबाट हाल अत्यावश्यक लाइसेन्स दैनिक तीन सयदेखि पाँच सय प्रति छापिने गरेको छ। लाइसेन्स नवीकरण, हराएको र नयाँ गरी हाल दैनिक चार हजार प्रति लाइसेन्स माग छ।
राष्ट्रिय परिचयपत्रमा लाइसेन्सको पनि विवरण समेटिने भएपछि छपाइको चाप घट्ने अनुमान विभागको छ। परिचयपत्रमा समावेश भएपछि लाइसेन्स बोकिरहनु नपर्ने भएकाले छपाइको चाप न्यून हुने पनेरूले बताए। ट्राफिक प्रहरीले चेकजाँच गर्दा राष्ट्रिय परिचयपत्रको नम्बर भनेपछि लाइसेन्स देखाउन नपर्ने व्यवस्था छिट्टै लागु हुँदै छ। गोरखापत्रबाट
प्रकाशित: १० भाद्र २०८१, सोमबार