Technology Khabar ९ भाद्र २०८१, आईतवार
काठमाडौं ।
वास्तु विज्ञानका आधारमा प्रविधिको प्रयोग गरी नेपालमा पहिलो वेबसाइट सञ्चालनमा आएको छ।
वास्तु विज्ञान प्रालिले वास्तु क्षेत्रका परामर्शकर्ता, इन्जिनियर, वास्तु अनुयायीहरूलाई सहयोग हुने गरी vastubigyan.com नामक वेबसाइट शनिबार राजधानीमा आयोजित एक समारोहबीच अनावरण गरेको हो।
वेबसाइटमा वास्तुका लागि आवश्यक पर्ने दिशा चयन, नक्साको वास्तुस्थिति र वास्तु प्रभाव, सडक प्रभाव, माटोको परीक्षण विधिलाई सहज रूपमा प्रस्तुत गरिएको छ । त्यसैगरी वास्तुका क्षेत्रमा अधिक प्रयोग हुने ४५ देवताको स्थान, ऊर्जाको प्रभाव तथा देवताको उपचार विधिलाई प्रस्तुत गरिएको छ।
वास्तु विज्ञान डटकमको अनावरण गर्दै विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले नेपालमा यस किसिमको वेबसाइटको सुरुआत गौरवपूर्ण कार्य भएको बताए। उनले वास्तु सकारात्मक बनाएर जीवन समुन्नत पार्न मानिसले नै प्रयोग गर्न सक्ने वैदिक विधि भएकाले वेबसाइटले सर्वसाधारणको जीवनमा सकारात्मक प्रभाव ल्याउन कोशेढुङ्गा बन्ने बताए।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव विष्टले विभिन्न ग्रन्थहरुको अध्ययन गरी तथ्यांकहरुको सही प्रयोग भएकोले वास्तुविज्ञानडटकमले नेपालको वास्तु सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले साधना, अध्ययन र प्रविधिसमेतको प्रयोग भएको वेबसाइटले नेपाली वास्तुको क्षेत्र उच्चस्तरमा लैजाने सम्भावना रहेको बताए।
त्यसैगरी नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले हजारौँ तलाको भवन बनाउने वैदिक विधान रहेकाले शास्त्रीय मान्यता र आधुनिक विज्ञानको प्रयोग अत्यन्तै व्यावहारिक भएको बताए।
कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासङ्घका सभापति आचार्य लक्ष्मण पन्थी, वैदिक वास्तुका विज्ञ डा श्रीविमल पौडेललगायतले वेबसाइटले वास्तुका क्षेत्रमा नयाँ इटा थप्ने काम गरेको बताए।
वास्तु विज्ञानको तर्फबाट वास्तुविज्ञान डट कम सर्जक शालिकराम भण्डारीले वेबसाइटका बारेमा प्रस्तुति गरेका थिए। रासस
प्रकाशित: ९ भाद्र २०८१, आईतवार