Technology Khabar ७ भाद्र २०८१, शुक्रबार
काठमाडौं ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रविधिमैत्री बनाउने काम अगाडि बढाएको छ।
नगरपालिका भित्रका ३३ वटै सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन जडानको काम अगाडि बढाएको हो।
शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगगरी पढाई गर्ने व्यवस्था मिलाउन लागिएको नगरप्रमुख हेमराज ओझाले बताए।
“विशेषगरी बालविकासका कक्षामा पढ्ने बालबालिकालाई लक्षितगरी प्रत्येक सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन, स्मार्ट बोर्ड र इलेक्ट्रोनिक्स डिभाइसका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन लागेका छौँ”, उनले भने, “नगरभित्रका सामुदायिक विद्यालयलाई नमुना बनाएर शिक्षाको खस्किँदै गएको गुणस्तरलाई उचाइमा पुर्याउने काम भइरहेको छ।”
विद्यालयको आवश्यकताका आधारमा ब्ल्याक एण्ड ह्वाइट प्रिन्टर, कलर प्रिन्टर, प्रोजेक्टर, कम्युटरलगायत सामग्रीको व्यवस्था गर्ने काम भइरहेको उनले उल्लेख गरे।
विद्यालयलाई उपलब्ध गराइएका इलेक्ट्रोनिक्स डिभाइसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे नगरपालिकाको सूचना प्रविधि शाखामार्फत विद्यालयका स्रोत शिक्षकलाई तालिम दिने काम गरिएको छ। विद्यालयको गतिविधि नियाल्नका लागि नगरपालिकाले आन्तरिक संयन्त्र तयार गरेको छ।
नगरभित्र रहेका विभिन्न जातजातिको कलासंस्कृति साहित्य र वेषभूषा संरक्षणका लागि विद्यालय तहबाटै जानकारी दिने कामका लागि विद्यार्थीलाई प्रोत्साहित गर्ने काम नगरपालिकाले गर्दै आएको छ।
गुणस्तरीय शिक्षाका लागि नगरभित्र रहेका विद्यायको काम सम्पादन एवं गुस्तर मापन गर्ने संयन्त्र बनाई उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको नगर प्रमुख ओझाको भनाई छ। यसअघि नगरपालिकाले विद्यालयमा तहगत रुपमा शिक्षकको दरबन्दी मिलानको कामसँगै प्रधानाध्यपक व्यवस्थापनको काम गरेको थियो।
प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार