भारत : एपमा आधारित क्याब सेवाको विरोधमा अटो, ट्याक्सी चालकहरूद्वारा हडताल आह्वान

Technology Khabar ७ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

दिल्लीमा अटो तथा ट्याक्सी चालकहरूले अनुचित प्रतिस्पर्धा र थोरै कमाइ हुने भन्दै एपमा आधारित क्याब सेवाविरुद्ध दुई दिने हडतालको आह्वान गरेका छन्।

बिहीबारदेखि सुरु भएको हडतालबाट यात्रीहरूलाई असुविधा भएको छ भने धेरै चालकले सवारी लिन अस्वीकार गरेका छन्।

एपमा आधारित क्याब सेवाहरू अवैध रूपमा सञ्चालन भइरहेको र स्थानीय चालकहरूको शोषण गरिरहेको दिल्ली अटो ट्याक्सी ट्रान्सपोर्ट कांग्रेस युनियनका उपाध्यक्ष आरएस राठौडले बताए।

“ओला र उबर जस्ता कम्पनीहरूले हाम्रो पैसा खाइरहेका छन्, हामीले ओला र उबर जस्ता एपमा आधारित क्याब सेवाविरुद्ध हडताल गरेका छौँ, यी कम्पनीहरू अवैध रूपमा चलिरहेका छन् र स्थानीय चालकहरूले आफूले पाउनुपर्ने पारिश्रमिक पाइरहेका छैनन्”, उनले भने, “यी एपले अटो र बाइक जस्ता सबै सवारी साधनलाई लिएका छन्, यसबाट स्थानीय चालकहरूलाई अहिले कुनै व्यवसाय छैन।”

उनले सरकारले ध्यान नदिए भविष्यमा विध्वंश हुने सम्भावना रहेको बताए। “हाम्रो अत्यन्त सरल मागहरू छन्–हामी ओला र उबरलाई बन्द गर्न माग गर्दछौँ”, उनले भने।

एपमा आधारित सेवाहरूले सवारी खोसेर आफ्नो आम्दानी घटाएको चालकहरूले गुनासो गरेका छन्। केही चालकले दैनिक खर्च पनि पूरा गर्न नपाइरहेको दाबी गरेका छन्।

यसैबीच हडतालका कारण यात्रीहरूले कठिनाइको सामना गर्नुपरेको छ र धेरैले क्याब बुक गर्न समस्या भएको गुनासो गरेका छन्।

हडतालले दिल्लीमा परम्परागत ट्याक्सी चालकहरू र एपमा आधारित सेवाहरूबीच चलिरहेको तनावलाई प्रकाश पारेको छ। रासस/एएनआई

प्रकाशित: ७ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया