भोग र द न्यूयोर्करमा छापिएका सामग्री च्याटजीपीटीमा आउने गरी ‌‌ओपनएआईले गर्यो सम्झौता

Technology Khabar ५ भाद्र २०८१, बुधबार

काठमाडौं ।

साम अल्टम्यानको कम्पनी ओपनएआईले मंगलबार अमेरिकी आमसञ्चार कम्पनी कोण्डे नास्टसँग च्याटजीपीटी तथा सर्चजीपीटीलगायतका आफ्ना एआई स्टार्टअप उत्पादनहरुमा भोग र द न्यूयोर्करमा छापिएका सामग्री डिस्प्ले गराउनेबारे एक बहुवर्षीय सम्झौता गरेको छ। यो सम्झौता के कति रकममा भएको हो भन्ने चाहिँ खुलाइएको छैन।

ओपनएआईले केही महिनायता टाइम म्यागाजिन, फाइनान्सियल टाइम्स, बिजनेस इन्साइडरका मालिक एक्सेल स्प्रिङ्गर, फ्रान्सको ला मोण्डे तथा स्पेनको प्रिजा मिडियासँग पनि यसै प्रकारको सम्झौता गरिसकेको छ।

आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रशिक्षित गर्नका लागि यी र यसखाले कन्टेन्ट पार्टनरशीप जरुरी हुने भए पनि न्यूयोर्क टाइम्स तथा द इन्टरसेप्टजस्ता मिडियाले भने यस प्रकारको सम्झौतामा आफ्ना सामग्रीको प्रतिलिपि अधिकार हनन् भएको भन्दै माइक्रोसफ्टको समर्थनमा सञ्चालित ओपनएआईविरुद्ध मुद्दा हालेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

ओपनएआईका चिफ अपरेटिङ अफिसर ब्राड लाइटक्यापले समाचार निर्माण तथा वितरणमा एआईले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तथ्य वस्तुनिष्ठता तथा गुणस्तरीय रिपोर्टिङलाई कायम राख्नका लागि कम्पनीले कोण्डे नास्टसँग काम गर्न प्रतिबद्ध रहेको बताए।

प्रकाशित: ५ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया