केही समयमा राष्ट्रिय परिचयपत्र भएपछि लाइसेन्स बोक्नु नपर्ने, के राष्ट्रिय परिचयपत्र आफैंमा लाइसेन्स हो त?

Technology Khabar ५ भाद्र २०८१, बुधबार

काठमाडौं ।

अबको केही समयमा राष्ट्रिय परिचय पत्र खल्तीमा छ भने लाइसेन्स नबोकी सवारी चलाए पनि ट्राफिक प्रहरीको कारबाहीमा नपरिने भएको छ। तर यसको मतलब राष्ट्रिय परिचय पत्रलाई नै सवारी चालक अनुमति पत्र वा लाइसेन्स मानिएको भने होइन।

यसका लागि सवारी चलाउने मानिससँग लाइसेन्स हुनु जरुरी हुन्छ। तर लाइसेन्स बोक्नै पर्छ भन्ने जरुरी हुँदैन। तर लाइसेन्स नभएका मानिसहरुले भने राष्ट्रिय परिचय पत्र देखाएर उम्कन पाउने छैनन्।

लाइसेन्स प्राप्त गरेका, समय अवधि पनि बाँकी रहेका तर कुनै कारणले सवारी चलाउने बेला साथमा लाइसेन्स बोक्न छुटेका बेला भने कारबाहीमा नपर्ने बनाउन सरकारले पहल गरिरहेको छ।

यसका लागि आउँदै गरेको दशैं अगाडि नै लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने तयारी सरकारले गरिरहेको छ । यसका लागि गत साउन ३० गते यातायात व्यवस्था विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

यो समझदारीले पनि प्रस्ट पारेको छ कि लाइसेन्स नभएका हरुका लागि राष्ट्रिय परिचयपत्रले राष्ट्रिय परिचयपत्रको मात्र काम गर्छ भने लाइसेन्स भएकाहरुका लागि भने राष्ट्रिय परिचयपत्रले लाइसेन्सको समेत काम गर्नेछ।

उक्त समझदारी पत्रमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले हस्ताक्षर गरेका हुन्।

समझदारी पत्रमा उल्लेख भए अनुसार यी दुवै विभागले लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्नेछन्। त्यसपछि राष्ट्रिय परिचय पत्रमा लाइसेन्सको विवरण पनि स्वत: देखिनेछ र खल्तीमा लाइसेन्स छ कि छैन भनेर चेक गरिरहनुपर्ने जरुरत रहँदैन।

समझदारी पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पहिलो पक्ष र यातायात व्यवस्था विभागलाई दोस्रो पक्षका रुपमा राखिएको छ भने राष्ट्रिय परिचयपत्रलाई ड्राइभिङ लाइसेन्सका रूपमा प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

बुदा १२ मा भनिएको छ, ‘दोस्रो पक्षले पहिलो पक्षबाट जारी भएको राष्ट्रिय परिचयपत्रलाई सवारी चालक अनुमतिपत्रको (Driving License) रुपमा प्रयोग गर्ने व्यवस्था समेत गर्नेछ।’

सोही बुँदाको उप बुँदा (क) मा यो कामका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागले मिलेर कम गर्ने साथै राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर प्रयोग गरेर लाइसेन्सको विवरण हेर्न तथा रुजु गर्ने प्रणालीको विकास, परीक्षण तथा सञ्चालन गर्ने दायित्व पनि सुम्पिइएको छ।

उप बुँदा (ख) मा चालकले लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रणालीबाट उपलब्ध गराएको क्यूआर कोड देखाएमा वा परिचयपत्र नम्बर भनेमा चेकजाँच गर्ने अधिकारीले सवारी चालक अनुमतिपत्रको विवरण हेर्न तथा रुजु गर्ने प्रणालीबाट चेकजाँच गरिदिनु पर्ने समेत उल्लेख छ।

कुनै पनि पक्षबाट यी बुँदाहरुको पालना भए नभएको हेर्न दुवै पक्षका २-२ सदस्य सम्मिलित प्राविधिक टोली बनाएर रेखदेख तथा समस्या आएमा समाधान गरिने बुँदा १४ मा उल्लेख छ।

प्रकाशित: ५ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया