Technology Khabar ४ भाद्र २०८१, मंगलवार
काठमाडौं ।
नेपालमा १० महिनादेखि प्रतिबन्धमा रहेको छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटक खुलाउनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ।
स्रोतकाअनुसार, यसअघिको प्रचण्ड सरकारका पालामा गत वर्ष कार्तिक अन्तिम साता आधिकारिक रुपमा बन्द गरिएको टिकटकले ‘नेपालको कानुन अनुसार चल्ने प्रतिबद्धता’ जाहेर गरेका कारण खुलाउन लागिएको हो।
छलफलको मुख्य एजेण्डा टिकटक खोल्ने कि नखोल्ने भन्दा पनि खोलेपछि त्यसमा आउने सामग्रीहरुको वर्गीकरण र नियमन के कसरी गर्न सकिन्छ र गर्नुपर्छ भन्नेमा केन्द्रित रहेको बुझिएको छ।
टिकटकमा छाडा तथा अराजक सामग्रीको ओइरो लागेको र त्यसले हाम्रो समाज र राष्ट्रलाई नै नकारात्मक प्रभाव पारेको भन्दै गत वर्ष प्रचण्ड सरकारले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुसँग छलफल गरी उक्त सामजिक सञ्जाल औपचारिक रुपमा बन्द गरेको थियो। यसै हिसाबले पनि प्रतिबन्ध फुकुवाअघि नियमन प्रक्रियाका बारेमा गहन छलफल गरेर ठोस निष्कर्षमा पुग्नु जरुरी देखिन्छ।
टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे छलफल भइरहेको सम्बन्धमा बुझ्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘नेपालको नीतिनियम अनुसार नभएकोले बन्द गरिएको टिकटकले यसअघि ७ पटक र पछिल्लोपटक करिब २ हप्ताअघि पनि नेपालको नीतिनियम अनुरुप चल्ने प्रतिबद्धतासहितको इमेल लेख्दै प्रतिबन्ध हटाउन सरकार समक्ष आग्रह गरेको थियो।’
उनका अनुसार यो प्रतिबन्धले सरकार र टिकटक दुवैलाई आर्थिक नोक्सानी परिरहेको थियो।
तर सरकारले भने आर्थिक नाफा घाटा भन्दा देशको नियम कानुन र समाज तथा राष्ट्रको मर्यादालाई अगाडि राख्नुपर्ने उल्लेख गर्दै सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै प्रतिबन्ध कायमै राखेको थियो।
प्रकाशित: ४ भाद्र २०८१, मंगलवार