Technology Khabar ४ भाद्र २०८१, मंगलवार
काठमाडौं ।
नेपालमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार रकम र सङ्ख्या गत आर्थिक वर्षको अन्तिम महिना असारमा बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८१ असारसम्मको बृहत् आर्थिक विवरण अनुसार ई-कमर्समार्फत हुने कारोबारको रकम तथा सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा बढेको पाइएको हो।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८१ असारमा ई-कमर्समार्फत ९१ करोड ३० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् २०८१ जेठमा ८७ करोड ४० लाख रुपैयाँ रहेको थियो।
यसरी हेर्दा जेठदेखि असार मसान्तसम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार ३ करोड ९० लाख रुपैयाँले बढेको देखिन्छ।
कारोबार सङ्ख्याका हिसाबले हेर्दा असारमा ईकमर्स मार्फत १ लाख ४५ हजार ९७७ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् जेठमा भने १ लाख ४२ हजार ३६५ पटक कारोबार भएको थियो।
तुलनात्मक रुपमा हेर्दा जेठ मसान्तदेखि असार मसान्तसम्म ईकमर्समार्फत हुने कारोबार सङ्ख्यामा झिनो अर्थात् ३ हजार ६१२ ले बढेको विवरणबाट प्रस्ट हुन्छ।
प्रकाशित: ४ भाद्र २०८१, मंगलवार