नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन सकेनः -प्रहरी

Technology Khabar ३ भाद्र २०८१, सोमबार

नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन सकेनः -प्रहरी
सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी सोलुखुम्बु, ३२ साउनः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट शुक्रबार दिउँसो आएको भीषण बाढी । तस्बिरः अन्जु कार्की÷रासस

काठमाडौं ।

थामेखोलामा आएको बाढीले कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्याउँदा झण्डै एक हजार घरपरिवार प्रभावित भएका छन्।

गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका-५ थामेमा आएको बाढीले गाउँसहित नौ सय ३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्याएको थियो । जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी नौ सय ६० घरभन्दा बढी घरपरिवार प्रभावित भएको खुम्बु विजुली कम्पनीका प्रबन्धक सोनाम दोर्जी शेर्पाले जानकारी दिए।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले विजुली नहुँदा सञ्चारलगायतका सेवा अवरुद्ध भएको बताए। “बाढीले विद्युत् आयोजनामा क्षति पुर्याएपछि समस्या भएको छ, बत्ती नुहँदा मोबाइल नेटवर्कसमेत प्रभावित हुँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ। बाढीका कारण खुम्बुमा ठूलो क्षति पुगेको छ”, उनले भने।

विद्युत् परियोजना मर्मतका लागि आइतबारदेखि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली खटिसकेको इलाका प्रहरी कार्यालय लुक्लाका इञ्चार्ज प्रहरी नायब निरीक्षक हेमबहादुर कट्वालले जानकारी दिए। उनले भने, “नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली मर्मतमा खटिएका छन्। क्षति ठूलो भएकाले तत्काल आयोजना सञ्चालन हुने सम्भावना न्यून भएको जानकारी प्राप्त भएको छ।”

विद्युत्गृहमा क्षति नभए पनि बाँध पूर्णरुपमा क्षतिग्रस्त भएको नाम्चेका स्थानीय समेत रहेका राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले बताए।

उक्त क्षेत्रमा आजदेखि नेपाल टेलिकमको मोबाइल सेवा आंशिक रुपमा सञ्चालनमा आएको जनाएको छ। यद्यपि नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३ भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया