Technology Khabar ३ भाद्र २०८१, सोमबार
काठमाडौं ।
नेपालमा कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी रकम तथा कारोबार पछिल्लो तीन महिनामा उकालिँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८१ असारसम्मको बृहत् आर्थिक विवरण अनुसार कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी कारोबारको रकम तथा सङ्ख्या दुवैमा क्रमश: वृद्धि हुँदै आएको पाइएको हो।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८१ असारमा कनेक्ट आईपीएसमार्फत ६ खर्ब, ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् २०८१ जेठमा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ रहेको थियो। यसबाहेक वैशाख महिनामा यो रकम ५ खर्ब २२ अर्ब ७० करोड ४० लाख रुपैयाँ रहेको थियो।
यसरी हेर्दा वैशाखबाट जेठसम्म ३९ अर्ब ९१ करोड ४० लाख तथा जेठदेखि असार मसान्तसम्म आउँदा कनेक्ट आईपीएसमार्फत हुने कारोबार १ खर्ब ३ अर्ब ९६ करोड ५० लाख रुपैयाँले बढेको देखिन्छ।
कारोबार सङ्ख्याका हिसाबले हेर्दा असारमा कनेक्ट आईपीएसमार्फत ७७ लाख ८७ हजार २८२ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् जेठमा कनेक्ट आईपीएसमार्फत ६५ लाख २८ हजार ८५२ पटक कारोबार भएको थियो। यस्तै वैशाख महिनामा कनेक्ट आईपीएसमार्फत ६३ लाख १४ हजार ९९६ पटक कारोबार भएको पाइएको छ।
तुलनात्मक रुपमा हेर्दा वैशाख मसान्तदेखि जेठ मसान्तसम्मको कारोबार सङ्ख्या २ लाख १३ हजार ८५६ पटक तथा जेठ मसान्तदेखि असार मसान्तसम्म कनेक्ट आईपीएसमार्फत हुने कारोबार सङ्ख्यामा १२ लाख ५८ हजार ४३० ले बढोत्तरी भएको विवरणमा उल्लेख छ।
विवरणका आधारमा हेर्ने हो भने नेपालमा पछिल्लो ३ महिनामा कनेक्ट आईपीएसमार्फत हुने कारोबार रकम र सङ्ख्या दुवै बढदो प्रवृत्तिमा गएको देखिन्छ।
प्रकाशित: ३ भाद्र २०८१, सोमबार